काठमाडौंः नेपाली कांग्रेसले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई आत्म आलोचना गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रवारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा नाथुराम गोड्सेजस्तो व्यक्ति चाहिएको भनेर मन्तव्य राखेका थिए । उनको सो अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना भइरहेको छ भने नेकपा (एमाले)का नेता कार्यकर्ताहरुले नेपाली कांग्रेसको आधिकारिक धारणा मागिरहेको छन् ।
यस सम्बन्धमा शुक्रवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन नपाइने भन्दै उक्त शब्द फिर्ता लिई आत्मआलोचना गर्न निर्देशन गरेका हुन् ।
प्रवक्ता शर्माले तर्कले आपत्तिजनक शब्द छोप्ने आफुहरुको परम्परा नरहेको पनि स्पष्ट पारेका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोलि र ब्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न ।’उनले भनेका छन्, ‘शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’
प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा मन्तव्य राख्दै भनेका थिए, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ।’
उनको यो अभिव्यक्तिको तिव्र आलोचना भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया