काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आजबाट शुरु हुने केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनको मिति एकसाता पछाडी सार्ने पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन लगायत भावी राजनितिक एजेण्डा तय गर्ने बिषयमा छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने बताएको छ ।
भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ । कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ । कांग्रेसमा केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर मतदान गर्ने गरिन्थ्यो ।
जिल्ला, क्षेत्र वा प्रविधि प्रयोग के गरेर महाधिवेशन गर्न सकिन्छ भन्नेबारे आज केन्द्रीय समितिमा छलफल गरी टुंगो लगाइने भएको छ । कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य बनेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया