काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव समुहले पार्टीका अध्यक्ष महन्थ ठाकुरले कीर्ते कागज निर्वाचन आयोगमा बुझाएको आरोप लगाएको छ ।
यादव समुहका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरी हुँदै नभएको निर्णयलाई निर्णय भनी निर्वाचनमा आयोगमा ‘फर्जी’ पत्र दर्ता गरेको आरोप लगाएको हो ।
जसपाका अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणीकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युटसहितको पत्र दर्ता गराएका थिए ।
जसपाको यादव पक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ, निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय कार्य हो ।
जसपाको पुस ७ गतको बैठकले गरेका निर्णय अध्यक्षद्धय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्धारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ । ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ ।
प्रतिक्रिया