काठमाण्डौंः नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बुधवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले ओलीको प्रतिगमनविरुद्ध सडकमै जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय लिएको हो ।
बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेल लगायतका नेताहरु सहभागी थिए ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सामाजिक दुरी कायम गरी विरोध कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल भएको बताए । संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत बिहीवार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको खड्काले बताएका छन् ।
दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम गर्ने निष्कर्ष गठबन्धनले निकालेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी निर्णयविरुद्ध कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन गरिने खड्काले जानकारी दिए ।
‘स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर विरोध कार्यक्रम निरन्तर गर्छौं । बाढी पहिरोबाट क्षति भएका ठाउँमा राहत र सहयोगको कार्यक्रमका लागि संगठन परिचालन गरिने छ,’ उनले भने ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको बेला गठबन्धनले आफ्नो पक्षमा फैसला गराउने उद्देश्यले विरोधमा उत्रिने निर्णय गरेको देखिएको छ ।
ओलीले बहुमतको सरकार चलाउन नसक्ने परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो । राष्ट्रपति भण्डारीले दिएको २१ घण्टाको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत १४९ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपनि राष्ट्रपतिबाट स्वीकृत भएन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया