श्रावण ४, २०८२ आइतबार July 20, 2025

गुह्येश्वरीमुनिको वाग्मती किनारमा सफाइसँगै गुर्जोरोपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः असारे झरीका बाबजुद बिहान ७ः०० बजेदेखि नै सफाइ अभियानकर्मी गुह्येश्वरी मन्दिरमुनिका वाग्मती किनमार भिज्दै जम्मा भए । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती र विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा लिइने गुह्येश्वरी क्षेत्रमा सफाइ गरियो । ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले विगत नौ वर्षदेखि यसैगरी महाअभियानलाई निरन्तरता दिँदै आएका छन् ।

नौ वर्षअघि २०७० साल जेठ ५ गते गुह्येश्वरी मन्दिरअघिको नदी किनारबाट नै वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । महाअभियानको ४२५औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइसँगै गुर्जो रोपण गरिएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको संयोजनमा सफाइ र गुर्जो रोपणसमेत गरिएको हो ।

सफाइमा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सञ्चालक समितिका सदस्य, कर्मचारीलगायतको सक्रियता थियो । सफाइपछि वाग्मती नदी किनार र अधिकारसम्पन्न वाग्मती समितिको कार्यालय परिसरमा गुर्जो रोपण गरिएको हो ।

नदी किनार र कार्यालय परिसरमा गरी करीब ३०० बिरुवा रोपण गरिएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष तिमल्सिनाले औषधीय गुणले युक्त वनस्पति गुर्जो सबै क्षेत्रको वाग्मती किनारमा रोप्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बहुउपयोगी वनस्पति भएकाले अभियानकर्मी राजलवटलाई कार्यालयले नै बोलाएर गुर्जो रोपण गराएको उहाँले सुनाउनुभयो ।

कार्यक्रमको संयोजन अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेल र पूर्वसहसचिव एवं योगगुरु किशोरकुमार जोशीले गर्नुभएको हो । आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहनुभएका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आउनुभएको छ ।

आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उहाँले गत वर्ष देशभर निःशुल्क बाँड्नुभएको थियो । गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।

उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरे नुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको छ ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । विसं २०७६ एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करीब ११ हजार बिरुवा निःशुल्क बाँड्नुभएको छ । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उहाँ बताउनुहुन्छ । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया