काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेपले आमन्त्रण गरेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए।
विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी भइरहेको बताए।
अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै उहाँले विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र नभइ आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा र्पुयाउको बताए।
आजको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
असार १७ गतदेखि सुरु भएको आठौँ अधिवेशनको बैठक हिजो पनि बसेको थियो । प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन भने सुरु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया