श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताउनुभयो ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । उहाँले भन्नुभयोे, “दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔं ?” उहाँले उपचार खर्च तिर्न नसक्दा आफ्ना श्रीमती र नवजात शिशु घर ल्याउनका लागि भनी चारपाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताउनुभयो ।

नदाफले आज बिहान राससको कार्यालयमा आएर उपचार खर्च जुटाई दिनका लागि गुहार माग्नुभयो । उहाँले भन्नुभयो, “सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ रु ६० हजार बाँकी छ । तपाईको सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु ।”

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहनुभएको छ । “एउटा झोला र कापी लिएर हिँडेको छु”, दुःख सुनाउँदै उहाँले भन्नुभयो, “कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।” नदाफले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । “यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन”, मलिन अनुहारमा उहाँले दुखेसो पोख्नुभयो ।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उहाँले करीब करीब रु ५० हजार उपचारमा रित्याइसक्नुभएको छ । उहाँले भन्नुभयो, “अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।” यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन् । समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गर्नुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाह्रो हुनसक्ने उहाँको दुःखेसो छ ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार