काठमाण्डौंः पर्वतमा ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । पछिल्ला केही दिन यता पर्वत अस्पतालमा उपचारका लागि आउने ज्वरोका बिरामीहरूको सङ्ख्या उल्लेख्य मात्रामा बढेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार अस्पतालको ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकामध्ये करिब ३० देखि ३५ जनामा ज्वरो, रुघा र खोकीको लक्षण देखिएको बताउनुभयो ।
कोभिड सङ्क्रमणको जस्तै लक्षणहरू देखिएका बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा आउन थालेपछि उनीहरूको सबैको एन्टीजीन परीक्षण गर्ने गरिएको छ । तीमध्येका १६–१७ जनामा कोरोना पोजेटिभ देखिने गरेको डाक्टर पौडेलले जानकारी दिनुभयो ।
पछिल्ला २–४ दिनको अवस्था हेर्दा स्वास्थ्य परीक्षणको लागि ओपिडीमा आएकामध्ये करिब ३०–३५ जनामा कोभिडसँग मिल्दो लक्षण देखिन्छ । कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक तथा फोकल पर्सन उमाकान्त सापकोटाले समुदायमा कोरोना सङ्क्रमणको जोखिम झन् झन् बढ्दै गइरहेको बताउनुभयो ।
गत चैत, वैशाख र जेठमा जस्तो परीक्षणको दायरा अहिले फराकिलो नभएको कारण पनि सङ्क्रमितको सङ्ख्या कम भएको जस्तो देखिएको बताउँदै उहाँले नगरपालिकाको तर्फबाट जाँच गरिएका ठाउँमा ५० प्रतिशतमा संक्रमण देखिएको उहाँको भनाइ छ ।
कुश्मा नगरपालिका वडा नं. ८ मा गरिएको परीक्षणमा ५० प्रतिशतमा संक्रमण भेटिएको थियो । अन्य ठाउँमा गरिएका परीक्षणमा पनि ५० प्रतिशतमा सङ्क्रमणको पुष्टि भएको छ । पर्वतमा कोरोना सङ्क्रमणको अवस्था कम भएको रिपोर्टहरू देखिन थालेपछि बजारहरू खुल्दै गएका छन् भने लामो तथा छोटो दूरीका सवारीहरू पनि सञ्चालनमा आइरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया