श्रावण ४, २०८२ आइतबार July 20, 2025

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

मुख्य जात्रा आइतबार हुने भए पनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच शुरु हुने उहाँले बताउनुभयो । कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म (गुरुजुको पल्टन) ले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो ।

इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ । आजदेखि यही असोज ८ गतेसम्म विभिन्न १९ किसिमभन्दा बढीका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ । भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।

असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ । कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो ।

यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको जनाइएको छ ।

भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । त्यसै दिन बेलुकी बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो । इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्वदन्ती प्रचलित छ ।

एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित अर्यालले बताउनुभयो । अर्को किम्वदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ ।

प्राचीनकालदेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ । मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो । प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्रा गर्ने परम्परा भए पनि मुस्लिमको आक्रमण भएका स्थानमा यो परम्परा टुटेको छ ।

नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार