श्रावण ४, २०८२ आइतबार July 20, 2025

तीनदिने भक्तपुरको मुपात्र जात्रा आजदेखि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृङ्गारपटारका साथ तरबार समात्न लगाई नगर पूरै परिक्रममा गराउने प्रचलन छ । नगर परिक्रमा गर्दा भक्तपरका टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन् ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पु¥याइन्छ ।

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोल तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालिसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन् । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।

जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार