श्रावण ३, २०८२ शनिबार July 19, 2025

काठमाडौं उपत्यकामा न्यूनतम ९९ रुपैयाँमा नै मेट्रो अनलाइन ट्याक्सी चढ्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सीले औपचारिक रूपमा सेवा सुरू गरेको छ । यस एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुविधा दिइएको छ । सेवाग्राहीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् ।

यसका लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । यो सेवामा पाँच हजारभन्दा धेरै ट्याक्सी समावेश भएको भन्दै कम्पनीले आफ्नो प्लेटफर्मले नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको दाबी गरेको छ ।

कम्पनीले आज बुधबार ट्याक्सी चालकका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकलाई प्रदान गर्ने सेवाका बारेमा अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ ।

तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरिका, ग्राहकसँग गरिने व्यवहार लगायतका विषयमा ट्याक्सी चालकलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङ्गले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको कम्पनीकाे दाबी छ ।

मेट्रो अनलाइन ट्याक्सीमा यात्रुले न्यूनतम रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिए ।

‘हामीले हालसम्मकै सस्तो भाडादरमा आधारित भएर ट्याक्सी सेवा दिनेछौं । यसमा न्यूनतम ९९ रुपैयाँमा नै यात्रुले ट्याक्सी चढ्न सक्नेछन्,‘ प्रशासनिक प्रमुख प्रधानले भने। – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया