श्रावण ४, २०८२ आइतबार July 20, 2025

भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको चर्चा चलेका बेला रावल अध्यक्ष कुनै छलफल भएको जानकारी नभएको र उम्मदेवारी कुनै हालतमा फिर्ता नलिने उल्लेख गरिरहेका थिए ।

आफ्नै निकट पदाधिकारी व्यवस्थापनको सकसले ओली पार्क सफारीमा व्यस्त रहँदा रावल भने बन्दसत्र स्थल सेभेन स्टारमा प्रतिनिधि भेटेर मतदानका लागि आग्रह गर्दै थिए । १० बजे भनिएको बन्दसत्र साढे ३ बजेमात्रै सुरु भयो । ओली साढे १२ बजे आएका थिए । बन्दसत्र अगाडि कुनै छलफल नभएका रावलको ओलीसँग मञ्चमै जम्का भेट भयो ।

अध्यक्षको अडान नछाडेका रावललाई गलाउनेगरी बन्दसत्रमा एउटा प्रस्ताव आयो । अन्तिम केन्द्रीय समिति बैठकमा सर्वसम्मतको उद्देश्यसहित पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय गराउँदा रावल टसको मस नभएपछि ओलीले पार्टीका संगठन प्रमुख तथा उपमहासचिव विष्णु पौडेलबाट अर्को तुरुप फ्याँके, ‘पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्षलाई दिने’ ।

रावललाई अध्यक्षको उम्मेदवारीबाट फिर्ता हुनेगरी गलाउन ल्याएको प्रस्तावले बन्दसत्रमा तनावको अवस्था सिर्जना भयो । रावल वाकयुद्धमै उत्रिँदै कडा बोले । ओलीलाई अधिकार दिने प्रस्तावमा अधिकांश प्रतिनिधिले ताली बजाएपछि पौडेलले पारित भएको घोषणा गर्दा रावलले अस्वीकार गरे । यो प्रस्ताव नमान्ने उनले घोषणा गरे । पौडेलको प्रस्ताव पारित भएपछि बन्दसत्र सञ्चालक महासचिव ईश्वर पोखरेलले रावललाई बोल्ने समय दिएका थिए ।

रावलले सुरुमै अध्यक्ष ओलीसहित उनी निकट नेताहरुले भन्दै आएको सर्वसम्मतको जवाफ दिए, ‘सहमति त ठिक हो । तर विधि पद्वतिअनुसार हुनुपर्छ । उम्मेदवारी दिएन भने सर्वसम्मत होला ।’

यसमा उनले विधान महाधिवेशनबाट पारित भएको विधानको धारा १६ मा केन्द्रीय कमिटीको निर्वाचन गर्नुपर्ने प्रावधान स्मरण गराए । ‘यहाँ कुनै किटानबाट पनि उम्मेदवारी नगर्नु भन्न मिल्दैन । सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि । उम्मेदवारी अर्कोले नदिएपछि त्यसै सहमति हुन्छ,’ उनले सर्वसम्मतको फर्मुला मञ्चमा सुनाए ।

त्यतिमात्र होइन सहमतिको रटान लगाइरहेका नेताहरुलाई ठूलो स्वरमा सोधे, ‘हामीले विधानको विपरीत कुनै प्रस्ताव पारित गर्न सक्छौं ? सक्दैनौं । मिल्दैन । कि त हामीले के भन्नुपर्‍यो भने अब उपरान्त निर्वाचन हुनेछैन । फलानोले यसरी नाम प्रस्तावित गर्‍यो भने त्यसैमा हुनेछ भनेर विधानमा लेख्नुपर्‍यो । के हामी त्यहीँ बाटोमा जान खोजेको हो ? जनताको बहुदलीय जनवादले त्यतै निर्दिष्ट गरेको हो ? विगतका महाधिवेशनबाट हामी जुन बाटोबाट गएर नेकपा एमालेलाई देशको सुदृढ संगठन बनायौं, कि त्यो बाटोबाट बनाएका हौं ? निर्वाचित र लोकतान्त्रिक प्रणालीले पार्टीलाई फुटाएको हो ?’

लोकतान्त्रिक प्रणालीले पार्टी मजबुत बनाउनले धारणा राख्दै रावलले संविधानको धारा ६१ पनि स्मरण गराए । यो धारामा पार्टीको समन्वय र संगठन कमिटीबाहेक सबै तहका कमिटी महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । ‘हामीले लोकतान्त्रिक परिपाटीका यस्ता कुराहरुलाई यतिकै छोडिदियो भने अरुले कसरी विश्वास गर्छ ?’ उनले चर्को स्वरमा प्रश्न गरे ।

पार्टी विधान र पद्धतीअनुसार चल्नुपर्नेमा जोड दिएका उनले महत्वपूर्ण महाधिवेशनमा यस्तो कुरा (ओलीलाई अधिकार प्रस्ताव) प्रवेश गराउँदा आफूले विधान स्मरण गराएको बताए । ‘कमरेडले जतिसुकै दुत्कारे पनि हामी लडेर आएको हो । हामीले जब महाधिवेशनको बैठकभित्र एकअर्काको कुराको जब कुनै भ्यालु रहँदैन भने अध्यक्ष कमरेडले यो पार्टीमा कुनै अराजकता हुनुहुँदैन भनेको के हो ? त्यस्तो गर्न मिल्छ ? मिल्दैन,’ उनले आक्रोश पोखे ।

अन्तिममा रावलले चेतावनी शैलीमा आफू पछि नहट्ने स्पष्ट पारे । ‘मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको छु । यो मान्य हुनसक्दैन । म उम्मेदवारी दिन्छु । अरू कमरेडहरूले दिनुहुन्छ । यो अधिकार कुनै हालतमा कुण्ठित गर्न मिल्दैन । कुण्ठित हुँदैन,’ उनले भने । रावलले यी कुरा राख्दा हलमा रहेका प्रतिनिधिले हुटिङ र हल्ला गरेका थिए ।

रावल तातिएपछि कार्यक्रम सञ्चालक महासचिव पोखरेलले उम्मेदवारी दिन पाइने भन्दै विष्णु पौडेलको प्रस्तावको बचाउ गरे । विधानभन्दा दायाँबायाँ नहुने उनको स्पष्टोक्ति थियो । रावलले प्रश्नै प्रश्न उठाउँदा गर्माएको माहोलमा अध्यक्ष ओली पनि जवाफ दिन अग्रसर भए । महासचिव पोखरेलले ओलीलाई समय दिए । विष्णु पौडेलको प्रस्तावको बचाउ गर्दै ओलीले भने, ‘संगठन प्रमुखले सहमतिको भावनाअनुसार आग्रह गरेको हो । उम्मेदवारी उठ्न पाइँदैन भनेको हैन ।’

सहमतिबाटै नेतृत्व चयन गर्न आफूले पदाधिकारी र कमिटीको प्रस्ताव गर्ने उल्लेख गर्दै ओलीले चित्त नबुझे निर्वाचनमा जाने बाटो खुला रहेको बताए । ‘अधिकार र विधानअनुसार अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन,’ उनले भने ।

रावललाई जवाफ दिने क्रममा ओलीले ठट्टा पनि गरे, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । अहिले कोही उम्मेद्वार बनेको छैन । मनोनयन नै भएको छैन कसरी फिर्ता लिनुहुन्छ । अर्को उम्मेद्वार नै भएन भने कसरी लड्नु हुन्छ । आपत पो पर्ने भयो रावलजीलाई ।’

अहिलेको आवश्यकता सहमति र एकताको भन्दै ओलीले सकेसम्मत सर्वसम्मत गरौं भन्ने हो तर जबरजस्ती गरिँदैन भने । ‘डेमोक्रेटिक नम्स मान्ने पार्टी हो । उम्मेद्वार बन्न पाइन्छ,’ उनको भनाइ थियो ।

आफ्नैलाई व्यवस्थापन गर्न नसकेर चेपुवामा परेका बेला भीम रावल आमनेसामने भएर बन्दसत्रमै चुनौती दिएपछि ओली थप दबाबमा परेका छन् । सर्वसम्मत नेतृत्वको चयनको उनको प्रयास असफलताउन्मुख भएको छ । आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार