काठमाडौँः नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको केन्द्रीय कार्यसमितिको निर्वाचन तालिकामा सो कुरा उल्लेख छ । निर्वाचन कार्यतालिका प्रकाशित भएसँगै काँग्रेस महाधिवेशन तोकिएकै मितिमा हुने करिब पक्का भएको छ ।
यसअघि पनि पटक–पटक महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदै आएकाले अब पनि सर्ने हो कि भन्ने चर्चा चलिरहँदा प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो । मङ्सिर २४ गते सुरु हुने महाधिवेशनको दिन नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यस केन्द्रीय कार्यसमितिको निर्वाचनमा ७७ वटै जिल्लाबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, भ्रातृ सङ्गठनबाट महाधिवेशनमा प्रतिनिधित्व गरेका महाधिवेशन प्रतिनिधिहरू यसका मतदाता हुनेछन् ।
महाधिवेशनमा चार हजार सात सयभन्दा बढी मतदाता रहने जानकारी निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले दिनुभयो । यी मतदाताले केन्द्रीय कार्यसमितिका सभापति एक, उपसभापति दुई, महामन्त्री दुुई, कोषाध्यक्ष एक, सहमहामन्त्री आठ र १५३ केन्द्रीय सदस्य पदका लागि मतदान गर्नेछन् । काँग्रेसमा कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा निर्वाचन हुने प्रावधान छ । -गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया