काठमाडौंः प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड कर छली गरेको विषय बाहिर आएकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरे । गोल्छाले एमसीसीको विरोध गर्नेहरूको विरुद्ध अभिव्यक्ति दिएको भन्दै सांसद सुवालले राजस्व छली गर्ने गोल्छाविरुद्ध छानबिन हुनुपर्ने माग गरेका हुन् ।
‘उद्योग वाणिज्य महासंघका शेखर गोल्छाले ७६ करोड भ्याट छली गरेको समाचार आएको छ । र स्रोत नखुलेको विदेशी कम्पनीमा लगानी गरेको विषय सार्वजनिक भएको छ,’ सांसद सुवालले भने, ‘सम्पत्ति शुद्धीकरणद्वारा शेखर गोल्छामाथि छानबिन गरिनुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’ राष्ट्रलाई तिर्नुपर्ने कर नतिरेको भन्दै उनले गोल्छामाथि कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराए ।
यसैगरी, उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरिरहेका बेला संसद् बैठक चलाएको भन्दै आपत्ति जनाए । मंगलबार एमालेका अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् । उनले संसद् अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भीर ध्यानाकर्षण गराए । उनले सो सम्झौता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।
सांसद् सुवालले भने, ‘प्रमुख प्रतिपक्षले संसद् अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन । कार्यसूची अगाडि बढाउनुहुँदैन । संसद् स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुन्छ । संसद् अवरोधकै बेला अध्यादेश र विधेयक पेस हुनु र देश घाती एमसीसी सम्झौता पनि यसरी नै पेस गरेर पास गर्ने तयारी हुनेछ । त्यसको हामी विरोध गर्छौं ।’ बैठकमा एमालेका सांसदहरूले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गरलगायतका चर्का नाराबाजी गर्दै संसद्को बेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरेका थिए । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया