श्रावण ३, २०८२ शनिबार July 19, 2025

घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोक्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ ।

अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि नपाउने व्यवस्था छ ।

यसरी एकपटक अधिकतम थैली अंक राखेर घरजग्गाको किनबेच भइसकेपछि उक्त जग्गाको मूल्य घट्दै घट्दैन भन्ने मनोविज्ञान हावी हुँदा उक्त क्षेत्रमा घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको पाइन्छ ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूले त्यसलाई वैधानिक बनाउन जति पनि थैली अंक राखेर किनबेच गर्दा त्यसले पनि घरजग्गाको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने गरेको पाइन्छ ।

सरकारले पहिलो चरणमा नियमावली संशोधन गरेर घरजग्गाको मूल्य घट्न पनि सक्छ भन्ने सन्देश दिने र दोस्रो चरणमा वैज्ञानिक मूल्य निर्धारण गरेर सबैलाई मान्य हुने एउटै मूल्यांकन लागू गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले बताए ।

न्यूनतमसँगै अधिकतम मूल्यको पनि सीमा तोक्ने

गैरकानूनी तरीकाबाट आर्जन गरेको सम्पत्तिलाई वैधानिक बनाउन आफूखुशी थैली अंक राख्ने क्रम बढेपछि जग्गाको अधिकतम मूल्यको पनि सीमा तोक्ने विषयमा मन्त्रालयले गृहकार्य शुरू गरेको जोशीले बताए ।

यसअघि घरजग्गाको न्यूनतम मूल्यांकन तोके पनि अधिकतम जतिसुकै मूल्यमा पनि जग्गाको किनबेच गर्न पाइन्थ्यो । यसरी किनबेच गर्दा १० लाख रुपैयाँ चलनचल्तीको मूल्य भएको ठाउँमा १ करोड रुपैयाँभन्दा बढी थैली अंक राखे पनि मालपोत कार्यालयले खुरुखुरू किनबेच गराइदिनुपर्ने बाध्यता थियो ।

अधिकतम थैली अंकमा शंका लागेमा मालपोत कर्मचारीले सेवाग्राहीलाई थप सोधपुछ गरे पनि यो मूल्यमा जग्गा पास गर्दैन भन्ने अधिकार नभएकै कारण २५ लाख रुपैयाँमा किनेको जग्गा ३ दिनपछि १ करोड २५ लाख रुपैयाँ थैली अंक राखेर पनि किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका निवर्तमान महानिर्देशक शेषनारायण पौडेलले बताए ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया