काठमाडौंः भारी हिमपातले हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका वन्यजन्तु जोखिममा परेका छन् । संरक्षित वन्यजन्तु हिउँचितुवा, रेडपान्डा (हाब्रे), कस्तुरीसहित कालो भालु, रातो भालुलगायत समस्यामा परेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका–१ सामा गाउँमा हिउँले पुरिएर मरेको अवस्थामा झारल भेटिएको छ।
‘बाक्लो हिउँ पर्न थालेपछि जंगली जनावरहरू भाग्दै बस्तीनजिक आउने गर्छन्। यही मौकामा कैयौं संरक्षित जनावरलाई जंगली कुकुरले मार्ने गरेको छ’, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) प्रमुख अजित तुम्बाहाम्फेले भने, ‘कुकुरले गत वर्ष सामा गाउँमा चारवटा र ल्होमा दुईवटा कस्तुरी मारेको पायौं। त्यस्तै सामा गाउँमा आठवटा र छेकम्पारमा तीनवटा नाउर मारे। हिमालयन थार हिनाङमा तीनवटा, घोंडाका बच्चा सामा गाउँमा छवटा, याकका पाँचवटा मारेको भेटियो।’
उक्त तथ्यांक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पठाइएको तुम्बाहाम्फेले सुनाए। ‘यो वर्षचाहिँ के कति क्षति भयो भनेर तथ्यांक आइसकेको छैन’, उनले भने। जताततै हिउँ पर्दा संरक्षित जनावर खानेकुरा र पानी नपाएर समस्यामा पर्ने उनले बताए।
जंगली जनावरहरू भाग्दै, ओत खोज्दै बस्तीतिर आउँछन्। त्यही बेला कुकुरले पनि मार्छन्। कतिपय भाग्दाभाग्दै हिमपहिरोमा परेर मर्छन्। यही वर्ष पनि १० वटाभन्दा धेरै जनावरलाई कुकुरले मारेको छ।
– मिङमार लामा, वडा सदस्य, चुमनुब्री गाउँपालिका–१ हिउँबाट बच्न तल्लो क्षेत्रमा झर्ने गरेका रेड पान्डालाई धेरै जोखिम हुने गरेको छ। रेड पान्डाले बच्चा हुर्काउने समय पनि हो यो। उसलाई अझै धेरै समस्या हुन्छ। कतिपयले नचिनेर पनि त्यसलाई मार्ने गरेका छन्। – रमेश राई, संरक्षणकर्मी
हिमपातबाट अत्तालिएर भाग्ने कस्तुरी, झारल, नाउर हिमपहिरोमा परेर मर्ने गरेका चुमनुब्री गाउँपालिका–१ का वडा सदस्य मिङमार लामाले बताए। ‘जंगली जनावरहरू भाग्दै, ओत खोज्दै बस्तीतिर आउँछन्। त्यही बेला कुकुरले पनि मार्छन्। कतिपय भाग्दाभाग्दै हिमपहिरोमा परेर मर्छन्’, लामाले भने, ‘यही वर्ष पनि १० वटाभन्दा धेरै महत्वपूर्ण जनावरलाई कुकुरले मारेको छ।’ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा हिउँको थुप्रोबीच दाना खाँदै बाख्रा। तस्बिर सौजन्य : नोर्बु ढुन्डुक शेर्पा
जंगल, खर्क, चरनहरूमा बस्ने याक, चौरी पनि समस्यामा परेका उनले बताए। ‘हिउँ पर्यो भनेर मान्छेहरू रमाइरहेको देखिन्छ। तर, स्थानीयवासीको समस्या अलग्गै हुन्छ’, उनले भने, ‘किसानका याक, चौरी हिमपहिरोमा परेर मर्दा किसानलाई धेरै ठूलो क्षति हुन्छ। यो समस्या कोही देख्दैनन्।’ लाखौंको क्षति बेहोरेका दुर्गमका किसानलार्ई क्षतिपूर्ति दिनुपर्ने माग उनले गरे।
लगातार दुई दिनदेखि हिउँ पर्दा उत्तरी गोरखामा पाँच फिटभन्दा बाक्लो जमेको छ। गुम्बालगायत महत्वपूर्ण सम्पदामा बाक्लो हिउँ जमेपछि भाँचिने, भत्किने, पानी चुहिने, गुम्बाभित्रका सम्पदामा क्षति पुग्ने चुमनुब्री–७ बुर्जीका छिरिङ लामाले बताए। ‘पिरुङ गुम्बाभित्र लामा गुरु तपस्यामा बसेका छन्। तर, छानामा बाक्लो हिउँ जमेर भाँचिने, भत्किने खतरा बढेको छ’, उनले भने, ‘खानेपानी छैन। बाहिर निस्कन सकिएको छैन। जनजीवन पनि सकसपूर्ण छ।’
चुमनुब्री–६ लोक्पाको समस्याग्रस्त पहिरो केही थामिएको थियो। हिउँ पर्न थालेपछि पहिरो झर्न थालेको स्थानीयवासी सेराप गुरुङले बताए।
चुमनुब्री गाउँपालिकाका बासिन्दा अधिकांश बौद्ध धर्मावलम्बी हुन्। कुनै पनि प्रकारको हिंसाजन्य कार्य गर्दैनन्। त्यही भएर जंगली जनावर मान्छेसँग भाग्दैनन् पनि। गाउँबस्ती तथा खेतीबालीमा झ्याम्मिन्छन्। हिमपातका कारण संरक्षित वन्यजन्तु आहारा र सहारा खोज्दै गाउँबस्तीमा झर्दा जंगली कुकुरले लखेटी लखेटी मार्छन्।
गोरखामा हिउँले पुरिएर मरेको जनावर।
‘अहिंसा क्षेत्र भएकाले हाम्रो गाउँमा पशुपन्छी मार्दैनन्। तर, हिमपातका बेला कुकुरले लोपोन्मुख जनावर मार्यो भनेर सत्य कुरा बोल्न पाइँदैन’, स्थानीय जनप्रतिनिधि मिङमार लामाले भने, ‘सीडीओ, एसपीहरू हामीलाई नै कानुन लाउन खोज्छन्। पोहोर यसरी नै कुकुरले मारेको कस्तुरीको टाउकोमुनि कुकुरले मारेको ठाउँ र मितिसमेत उल्लेख गरेर टासेको थिएँ। सीडीओ साब घुम्न आउँदा वास्तविकता नै नबुझी मलाई थर्काउनुभयो।’ संरक्षित जनावरको शिकार गरेको भनेर कानुन लगाउने चेतावनी दिने गरेको उनले बताए।
चीनतिर तिब्बतमा पशुचौपाया संकटमा परे सरकारी निकायले हेलिकप्टर चार्टर गरी उद्धार गर्ने गरेको स्थानीयवासीलाई थाहा छ। ‘तर, हाम्रो देशको सरकार घाइते संरक्षित जनावरलाई उद्धार गर्ने, उपचार गर्ने बचाउने काम गर्दैन। दुर्घटनामा जनावर मरे भनेर सत्य कुरा बोल्यो भने उल्टै गाली खाइन्छ’, उनले भने, ‘लोपोन्मुख, संरक्षित जनावरहरूलाई कसरी बचाउने भन्ने पनि नीति बनाएर कार्यान्वयन गर्नुपर्छ।’ निर्दोश गाउँलेलाई दुःख दिने मात्र गर्नु नहुने उनको भनाइ छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अत्यधिक हिमपातले छोपिन लागेका याक। तस्बिर सौजन्य : नोर्बु ढुन्डुक शेर्पा
मनास्लु संरक्षण क्षेत्रमा अति लोपोन्मुख प्रजातिका हिमचितुवा, कस्तुरी, हिमालयन कालो भालु, रेड पान्डा, रतुवा, मिर्ग, नाउर तथा घोरल, झारलहरू पाइने संरक्षणकर्मी नरेन्द्र लामाले बताए। हिमपातका बेला ती जीवजन्तु मर्ने, जंगली कुकुरबाट मारिने लामाको भनाइ छ। संरक्षित जनावर दुर्घटनामा परेर मरेमा, हिंस्रक जनावरको आक्रमणमा परी मरे के गर्नुपर्छ भनेर राज्यका निकायले जनचेतना जगाउनुपर्ने उनको सुझाव छ।
हिमपातका कारण संरक्षित जनावर मरे वा घाइते भए सम्बन्धित निकायले मुचुल्का गरेर व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। संरक्षित जनावरको विषयमा राज्यले चासो लिनुलाई अन्यथा मान्न नहुने आचार्यको भनाइ छ।
हिउँले वासस्थान र चरण क्षेत्र ढाकेपछि बेंसी झर्न थालेका वन्यजन्तु स्थानीयवासीले बन्दुक, पासो र कुकुर प्रयोग गरी मार्ने गरेको पाइएको छ। चोरी शिकारी हुन नदिन निगरानी बढाइएको बाजुराका जिल्ला प्रहरी प्रमुख चतुर्भज ओझाले बताए। प्रहरीले बडिमालिका, बुढिन्नदा, दहकोट, मनाकोट, पाण्डुसेन र हिमाली गाउँपालिकाका हिमाली क्षेत्रमा गस्ती बढाएको छ। चोरी शिकार हुन सक्ने सम्भावना र अर्को जोखिममा परेको वन्यजन्तुको उद्धारका लागि प्रहरीले गस्ती बढाएको ओझाले बताए। विगतमा यही मौसममा चोरी शिकारका घटना बढी आएको उनले उल्लेख गरे।
लेकाली भेगमा हिमपातसँगै जंगली जनावर र पक्षीको चोरी शिकार तीव्र रूपमा हुन थालेको छ। हिउँमा फसेका मृगलगायत जनावर र चिसोले औलतिर झरेका पन्छीको शिकार गर्न हिमाली क्षेत्रका बासिन्दा हुल बाँधेर जाने गर्छन्।
वन्यजन्तु बेंसीतिर आउने भएकाले शिकारीहरू शिकार खेल्न जाने गरेको बडिमालिका नगरपालिका–७ का लक्ष्मीराज पाध्यायले बताए। ‘जंगलमा गएर दुर्लभ तथा संरक्षित वन्यजन्तु डाँफे, कालिच, बँदेल, कस्तुरी मृग, घोरल, बाघ, भालुको सिकार गर्छन्’, उनले भने, ‘शिकार खेल्न स्थानीयवासीको समूह एक दुई सातासम्म जंगलमा बस्ने गर्छन् ।’ कसैले त कुकुर लगेर मृगको शिकार गर्ने गरेको उनले बताए।
बाजुराको सदरमुकाम मार्तडीमा प्रतिकिलो डाँफे र मुनाल १५ सयदेखि २ हजार, कालिज १ हजारभन्दा बढीमा बिक्री हुने गरेको छ। त्यस्तै बँदेल, घोरल प्रतिकिलो ५ सय, कस्तुरी मृगको मासु प्रतिकिलो १ हजारमा बिक्री हुने गरेको एक शिकारीले बताए। चिसो मौसममा जंगली वन्यजन्तुको मासु बिक्री र मूल्य पाउने गरेको उनको भनाइ छ। गोरखाको छेकम्पारमा हिमपातले सकसमा परेका चौंरी। तस्बिर सौजन्य : छाङ चुम्बा लामा
उनका अनुसार सदरमुकाममा सबैभन्दा बढी ठेकेदार, कर्मचारी र व्यापारीले मासु किन्ने गरेका छन्। बाघको छाला र भालुको पित्त भने चीन, तिब्बत र भारतमा बिक्री हुने गरेको पाइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छी तथा वन्यजन्तुको शिकार गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद सजायको व्यवस्था छ। यस्तै ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ।
जिल्ला वन डिभिजन प्रमुख कालीराम चौधरीले बिगतमा वन्यजन्तु चोरी सिकार गर्ने पक्राउ गरिएको बताए। यो वर्ष भने त्यस्तो घटना भएको छैन। वनले चोरी सिकार रोक्न रेन्जर पोष्टलाई निर्देशन दिएको चौधरीले बताए।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बूको सेवारो चौकनजिकै एक व्यक्तिले चार वर्षअघि ढुंगाले हानेर दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) मारे। उक्त रेडपाण्डा पाथिभरा क्षेत्रमा अत्यधिक हिमपात भएपछि तल्लो क्षेत्रमा झरेको थियो। सोही क्षेत्रको मयाममा पाँच वर्षअघि कुकुरले आक्रमण गरेर लैजाँदै गरेको रेडपाण्डा स्थानीयवासीले खोसे।
हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले अत्यधिक हिमपात हुँदा वन्यजन्तुलाई घरपालुवा जनावर र मानवीय जोखिम बढी हुने बताए। ‘हिउँबाट बच्न तल्लो क्षेत्रमा झर्ने गरेका रेड पाण्डालाई धेरै जोखिम हुने गरेको छ’, कार्यक्रम संयोजक राईले भने, ‘रेडपाण्डाले बच्चा हुर्काउने समय पनि हो यो। उसलाई अझै धेरै समस्या हुन्छ। कतिपय मानिसले नचिनेर पनि त्यसलाई मार्ने गरेका छन्। प्रायः गरी कुकुरको आक्रमणका घटना बढी हुने गरेको छ।’
समुद्री सतहको २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइमा यो वन्यजन्तु पाइन्छ। हिमपात हुँदा १ हजार ६ सय मिटरसम्म पनि झर्ने गरेको उनले बताए। रेडपाण्डा संरक्षणमा प्रमुख चुनौतीका रूपमा नै सामुदायिक कुकुर देखिएको उनको भनाइ छ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा पनि हिमपातले वन्यजन्तुलाई समस्या हुने गरेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङले बताए। संरक्षण क्षेत्रमा पाइने हिमचितुवा, कस्तुरीलाई हिमपातले समस्या नगरे पनि डाँफे, मुनाल र रेडपाण्डालगायत लोपोन्मुख वन्यजन्तु प्रभावित हुने गरेको उनको भनाइ छ।
‘हिमपात हुँदा डाँफे, मुनाल लगायतलाई बढी जोखिम हुन्छ’, उनले भने, ‘मृत भेटिएका अधिकांश वन्यजन्तु कुकुरले आक्रमण गरेको पाइएको छ।’ सन् २०१३ को अध्ययनअनुसार ताप्लेजुङ जिल्लामा ७७ देखि १ सय ३४ वटासम्म रेडपाण्डा रहेको बताइएको छ। अन्नपूर्णबाट ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया