श्रावण ३, २०८२ शनिबार July 19, 2025

ललिता निवाश जग्गा प्रकरणः अधिकांश जग्गा तीन जनाका नाममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुवेदी दम्पतीलाई पुस ७ गते पक्राउ गरेको थियो । सुवेदी दम्पतीसँगको बयानपछि अर्का मुख्य योजनाकार शोभाकान्त ढकाललाई डिल्लीबजार कारागारबाट झिकाएर ब्युरोले बयान लिइरहेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

सीआईबी उच्च स्रोतका अनुसार हिनामिना भएको सरकारी जग्गामध्ये सबैभन्दा बढी मीनबहादुर गुरुङका नाममा रहेको पाइएको छ । भाटभटेनी सुपरमार्केट्सका सञ्चालक गुरुङसँग मात्र ३६ रोपनी जग्गा रहेको पाइएको सीआईबीका उच्च अधिकारीले बताउनुभयो ।
त्यस्तै, डिल्लीबजार मालपोतका तत्कालीन लेखनदास रामकुमार सुवेदी दम्पती र शोभाकान्त ढकालको संयुक्त नाममा २३ रोपनी जग्गा रहेको खुलेको छ । शोभाकान्त ढकालले अन्य व्यक्तिसँगको नाममा समेत जग्गा राखेको हुन सक्ने शङ्का ब्युरोले गरेको छ । ब्युरोको बयानमा सुवेदी दम्पती र ढकालले ललितानिवासको जग्गा विभिन्न मोहीसँग किनेको दाबी गरेका छन् ।

सीआईबीका अनुसार ललितानिवासको सरकारी जग्गाको ठूलो हिस्सा कैलाश गोयल, श्रवण गोयल र शिवरतन शारडाको नाममा पनि पाइएको छ । मारवाडी सेवा समितिका अध्यक्षसमेत रहेका कैलाशको नाममा रहेको ‘डीएफएल डेभलपर’ कम्पनीको नाममा ललितानिवासको १६ रोपनी जग्गा रहेको खुलेको छ । ललितानिवासको सरकारी जग्गामध्ये सुवेदी–ढकाल, गुरुङ र गोलयको नाममा मात्र ७५ रोपनीभन्दा बढी जग्गा रहेको खुलेपछि ब्युरोले उनीहरूमाथि थप निगरानी बढाएको छ । सीआईबीको पछिल्लो अनुसन्धानअनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १४३ रोपनी जग्गा किर्ते गरेको खुलेको छ । सरकारी जग्गा किर्ते गरी बिचौलियाले जग्गाको कित्ताकाट गरी बाटोसमेत विस्तार गरेका थिए । बाटोले चर्चेको जग्गाबाहेक १२६ रोपनी जग्गा हिनामिना भएको खुलेको छ ।

तीन सयभन्दा बढीमाथि अनुसन्धान

२०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकले ललितानिवास सरकारी जग्गा हिनामिनाको अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निर्णय गरेको थियो । ब्युरोले झन्डै तीन वर्षमा सरकारी जग्गा हिनामिनामा जोडिएका ३०० बढीमाथि अनुसन्धान गरेको जनाएको छ ।
सीआईबीले तयार पारेको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलगायत, विभागीय कर्मचारीको मिलेमतोमा सरकारी जग्गा हिनामिना भएको उल्लेख छ । ब्युरोको उक्त प्रतिवेदनमा १७५ जनाभन्दा बढी नामसमेत किटान गरिएको थियो ।

ललितानिवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ । सो हद–म्यादभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउनेगरी ब्युरोले अन्तिम तयारी गरिरहेको छ । सरकारी जग्गा किर्तेमा संलग्नमाथि थप अनुसन्धानका लागि सीआईबीले सम्पत्ति शुद्धीकरण विभागलाई समेत पत्राचार गरेको छ ।

दुई सयभन्दा बढीलाई पक्राउ पुर्जी

ललितानिवासको सरकारी जग्गा हिनामिनामा जोडिएका दुई सय २० जनाभन्दा बढी माथि काठमाडौँ जिल्ला अदातलबाट पक्राउ पुर्जी जारी भई अनुसन्धान भइरहेको छ । सुवेदी दम्पती र शोभाकान्त ढकालको पछिल्लो बयानपछि सो प्रकरणमा जोडिएका १२० जना माथि ब्युरोले अदालतबाट पक्राउ पुर्जी अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

ब्युरो उच्च स्रोतका अनुसार पछिल्लो पक्राउ पुर्जी जारी भएकामा गुठी संस्थानका पूर्वअधिकारी, तत्कालीन विभागीय कर्मचारी, सरकारी जग्गा किर्तेमा संलग्न तथा सहयोग गर्ने तत्कालीन कर्मचारीसमेत छन् । त्यस्तै, सरकारी जग्गा किनबेचमा साक्षी बसेका तथा बिचौलियासमेत अनुसन्धानमा तानिएका छन् ।

सीआईबीको अनुसन्धानमा ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चार पटक सरकारी कागजात किर्ते गरेर बिचौलियाले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको ब्युरोको अनुसन्धानबाट खुलेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार