श्रावण ३, २०८२ शनिबार July 19, 2025

जनतालाई आधारभूत सेवा दिनु सरकारको कर्तव्य हो : प्रधानमन्त्री देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालु आर्थिक वर्षको पाँच महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै आज उहाँले सो कुरा बताउनुभएको हो ।

जाडो बढेसँगै हिमपात र शीतलहरले जनजीवन प्रभावित भएको उल्लेख गर्दै उहाँले जनतालाई आवश्यक सेवा प्रदान गर्न निर्देशन दिनुभयो । साथै प्रधानमन्त्री देउवाले कृषिप्रधान मुलुकमा मलखाद र बीउको कुनै कमी हुन नदिनसमेत आग्रह गर्नुभयो ।

विकास निर्माण र जनतालाई सेवा दिने काममा अवरोधका रुपमा देखिने कानुनी समस्या समाधानका लागि लाग्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबै सचेत रहेको र यसलाई नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयो । मुलुक जलस्रोतको अपार भण्डारण भएकाले लगानीकर्तालाई आकर्षित गरेर बढीभन्दा बढी जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकिनेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुक अहिले धेरै किसिमले समस्यामा छ, कोभिड–१९ ले पनि ठूलो समस्या ल्याएको छ । बेमौसमी वर्षा र बाढी धेरै क्षति पु¥याएको छ । विपक्षी पार्टीले संसद् सुचारु गर्न नदिएर अर्काे समस्या खडा गरेको छ । यसले संसद्मा महत्वपूर्ण विषयमा गर्नुपर्ने छलफल हुन सकेको छैन । संसद्मा होहल्लाका बीचमा कतिपय कुरा पास गरेका छौँ, त्यो उचित त होइन तैपनि गर्नुपर्ने बाध्यता छ ।”

विकास निर्माणमा कार्यान्वयको समस्या पुरानै रहेको बताउँदै उहाँले समाधानका लागि विकासे मन्त्रालय र अर्थ मन्त्रालयबीच निरन्तर छलफल र सल्लाह गरेर अघि बढ्न निर्देशन दिनुभयो । राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उहाँले सम्बन्धीत निकायलाई ध्यान दिन निर्देशन दिनुभयो ।

कोभिड–१९ का बेला सरकारले धेरै महत्वपूर्ण निर्णय गरेको जानकारी गराउँदै उहाँले निःशुल्करुपमा कोभिडविरुद्धको खोप वितरण गर्ने नीतिले सफलता हासिल गरेको बताउनुभयो । अझै पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिँदै उहाँले खोप सहयोग गर्ने मुलुक तथा बहुपक्षीय निकायलाई धन्यवादसमेत दिनुभयो ।

“सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनाताको जीवन हो । सबैको जीवन बचाउनुछ । अझै पनि कोभिडको समस्या हुन सक्छ । त्यसकारण प्राथमिकतामा राखेर खोपको मात्रा बढाउनुछ । कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् । खोपका सम्बन्धमा जनतालाई अझै सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि मैले देखेको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले निकट भविष्यमै तीनैतहका निर्वाचन गर्नुपर्ने भन्दै आयोगलाई सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । निश्पक्ष, विश्वसनीय र भरपर्दाे निर्र्वाचनका लागि सबैले लाग्नुपर्नेमा जोड दिँदै निर्वाचनमा सत्ता गठबन्धनले आपसी तालमेल गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थव्यवस्थाको पछिल्लो तथ्याङ्क र अवस्थाबारे अवगत गराउँदै नीतिगत सुधार, संस्थागत संरचनाको क्षमता अभिवृद्धि, ढिलासुस्तीको अन्त्य, विकासको बाधक बनेका कानुनी पक्ष हटाउन सबै मन्त्रालय र निकायबीच समन्वयको खाँचो रहेकामा जोड दिनुभयो ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका राज्यमन्त्री उमेश श्रेष्ठले वर्तमान सरकार गठनपछि हासिल भएका उपलब्धिबारे बताउँदै सरकारले सुशासन र विकासका लागि थुप्रै नीतिगत र संस्थागत कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले विकास आयोजनाका प्रगती र चुनौतीबारे अवगत गराउँदै जलवायु परिर्वतनको असरले आगामी दिनमा पूर्वाधार विकासमा थपिने चुनौतीका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले सरकारले विकास निर्माण र जनतालाई पु¥याउनुपर्ने सेवाका सम्बन्धमा भएका कामकारबाहीबारे बताउँदै राजनीति र प्रशासन एक अर्काका परिपूरक भएकाले विश्वास, सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले चालु वर्षको विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनको व्यवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल सरकारका मन्त्री, सचिव, विभिन्न निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार