श्रावण ४, २०८२ आइतबार July 20, 2025

मौसमी तरकारीको मूल्य ६६ प्रतिशतसम्म घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा टाटेसिमी, बन्दा, काउली, गाजर, गोलभेडा, रायोलगायत मौसमी तरकारी र सागपातको मूल्य घटेको पाइएको हो । यतिबेला मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य केही घटेको बताइएको छ ।

महीना दिनअघि प्रतिकिलो १ सय १० रुपैयाँ औसत थोक मूल्य रहेको टाटेसिमीको मूल्य पछिल्लो १ महीनामा ६६ प्रतिशतले घट्दै प्रतिकिलो ३७ रुपैयाँ कायम भएको छ । टनेलको गोलभेडाको मूल्य पनि ५८ प्रतिशतले घट्दै प्रतिकिलो ६५ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ । गाजरको मूल्य पनि करीब ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय १० रुपैयाँबाट ५५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चमसुरको सागको मूल्य पनि ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय ३० रुपैयाँबाट ६५ रुपैयाँमा झरेको छ । स्थानीय काउलीको मूल्य किलोमा १० रुपैयाँले घट्दै ४० रुपैयाँबाट ३० रुपैयाँ, गान्टे मुलाको मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ, सेतो मुलाको मूल्य ३५ रुपैयाँबाट घटेर प्रतिकिलो २२ रुपैयाँ कायम भएको छ । मूल्य घट्नेमा रातो बन्दा, रायोको साग, ब्रोकाउली आदि रहेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले अहिले मौसमी तरकारीको उत्पादन बढेकाले तिनको मूल्य घटेको बताए । उनका अनुसार कालीमाटीमा बढीजसो तरकारी आयात हुने धादिङ, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुरलगायतका जिल्लाबाट अहिले यी तरकारीको आयात बढी हुने गरेको छ । कालीमाटीमा अहिले दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिने गरेको छ । -आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया