श्रावण ४, २०८२ आइतबार July 20, 2025

चीनतर्फका दुईओटा नाका पुन: सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुन: सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन । बाक्लो हिउँले सडक ढाकेपछि ठप्प भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट शुक्रवार मात्रै १० ओटा कन्टेनर नेपाल आएको भन्सार अधिकारीको भनाइ छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुुसार ४ फीट अग्लो हिउँले सडक भरिएकाले १२० सीबीएमसम्म भारी बोकेका झन्डै सयओटा कन्टेनर भने न्यालम र खासा भ्यान पार्किङमै रोकिएका छन् । हिमपात कम भएसँगै ती नेपालतर्फ लोड गरेर ल्याइनेछ । यसअघि चीनका खासा र न्यालम क्षेत्रमा बाक्लो हिउँ पर्दा तातोपानी नाका बन्द थियो । शुक्रवारबाट भने कन्टेनर आवतजावत गर्न थालेका हुन् ।

त्यस्तै, हिमपातसँगै सुक्खा पहिराका कारण अवरुद्ध रसुवागढी नाका पनि सञ्चालनमा आएको छ । स्याफ्रुबेंशी–रसुवागढी खण्डको राजमार्गमा रहेको अवरोध हटाइएसँगै शुक्रवारदेखि नै पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुवाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारीसाधन निर्वाधरूपले आवतजावत गर्न थालेको स्थानीय प्रशासनको भनाइ रहेको छ ।

पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको व्यवस्थापन गरी टिमुरे तथा रसुवागढी क्षेत्रको अवरुद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोलानजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरुद्ध भएको थियो ।

राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया