काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाटका जलविद्युत् आयोजना जोडिएका छन् । आयोजना जोडिँदै गर्दा प्राधिकरणलाई भने विद्युत् कहाँ खपत गर्ने र बिक्री गर्ने भन्ने चुनौती थपिएको छ ।
विद्युत् प्राधिकरणका अनुसार आगामी असारसम्म ५ सय मेगावट र आगामी पाँच वर्षभित्र ४ हजार ६ सय ८९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
स्वदेशी विद्युत् माग भने हालसम्म पिक डिमान्ड १ हजार ६ सयदेखि १ हजार ७ सय मेगावाटको हाराहारीमा मात्रै रहेको छ । यसो हँुदा हाल प्रासारण लाइनमा जोडिएका आयोजनाबाटै पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने हो भने पनि ४ सय मेगावाट विद्युत् खेर जान्छ । आगामी असारसम्म ५ सय मेगावाट थप हुँदा पुरै ९ सय मेगावाट विद्युत् खेर जाने देखिन्छ ।
प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीका अनुसार गत वर्ष औसतमा ४ सय ५० मेगावाट विद्युत् खेर फाल्नुपरेको थियो । उनले भने, ‘हामीले आगामी बर्खाभन्दा अगाडि नै विद्युत् व्यापार सम्झौता गरिसक्नुपर्नेछ । यसो गर्न सकिएन भने अझै हामीले ५ सयदेखि ९ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने हुन सक्छ ।’
नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाबाट ६ हजार मेगावाट विद्युत् खरिदको सम्झौता गरेको छ । त्यसमध्ये २०६१ मेगावाट प्रणालीमा जोडिएको छ भने ४ हजार ६ सय ८९ मेगावाट विद्युत् आगामी पाँच वर्षभित्र जोडिँदै छ ।राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया