श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुन: पाँचवर्षे व्यापार रणनीति बनाउन गृहकार्य शुरू गरेको छ । यसअघिका एकीकृत व्यापार रणनीतिहरूलाई समीक्षा गर्ने र आगामी ५ वर्षको व्यापार नीति बनाउन मन्त्रालयले रायसुझाव माग गरेको छ ।

नेपालको व्यापार क्षेत्रको प्राथमिकताहरू पहिचान गरिँदै सन् २०२२ देखि २०२७ सम्मको व्यापार रणनीति बनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ । नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ को कार्यान्वयन अवस्थाको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने तयारीअनुसार मन्त्रालयले विभिन्न ७ क्षेत्रसँग सम्बद्ध रहेर सुझाव माग गरेको छ । मन्त्रालयले संघीयता, अतिकम विकसित मुलुकबाट स्तरोन्नति, आर्थिक सुशासन, श्रम बजार, समावेशीकरण र गरीबीका लागि बजार, व्यापार लजिस्टिक्स विकास तथा व्यापार सहजीकरण, गुणस्तरीय पूर्वाधारहरू, मापदण्डहरू र कार्यान्वयनजस्ता विकासमा सुझाव माग गरेको छ ।

यस्तै व्यापार तथा लगानी सहजीकरणका लागि लगानी, वस्तु विकास तथा प्रवर्द्धनमा वस्तु र सेवा व्यापारमा रहेर सुझाव उपलब्ध गराउन मन्त्रालयले सरोकारवालालाई आग्रह गरेको छ । नेपालका निर्यातका सम्भावना भएका वस्तु तथा सेवाहरूको निर्यात प्रवर्द्धन गर्नका लागि रणनीति तयार गरिने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार बढ्दो व्यापारघाटा कम गर्ने उद्देश्यले नै यो रणनीति तयार गर्न लागिएको छ ।

यसमा विभिन्न तीनओटा अवधारणापत्र विज्ञहरूले प्रस्तुत गर्ने र निजीक्षेत्रको सल्लाह सुझाव पनि लिइने उनले बताए । सरकारले सन् २००४ देखि यस्ता रणनीतिहरू बनाउँदै आए पनि अपेक्षाअनुसार निर्यातमा फड्को मार्न सकेको छैन । नेपालले निर्यातलाई जोड दिँदै त्यसबेला डाइग्नोस्टिक ट्रेड इनिग्रिटी स्टडिज (डीटीआईएस) बनाएको थियो । त्यसको ६ वर्षमा अर्थात् सन् २०१० मा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तयार गरेको थियो भने यसलाई समीक्षा गर्दै सन् २०१६ मा निर्यातयोग्य वस्तुहरूको संख्या घटाउँदै ९ मा झारिएको थियो ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया