काठमाण्डौः पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन्। ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा. झाले बताइन्।
छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन्। ‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड १९ संयोजक डा. निरज बमले भने।
उनका अनुसार पुसको १५–१६ गते कोभिडको बिरामी भर्नादर शून्य रहेकोमा अहिले गत २४ घण्टामा करिब एक दर्जन बिरामी भर्ना भएका छन्। डेल्टा र ओमिक्रोन दुवैले खोप नलिएका र विशेष गरी वृद्धवृद्धामा निमोनिया बनाउन सक्ने डा. बमले बताए।
वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले कोभिड संक्रमण भई आउने बिरामीमा सामान्य रुघाखोकी र ज्वरो देखिएको बताए। धेरैजसो बिरामी एक डोजमात्र भए पनि खोप लगाइसकेका भएकाले उनीहरूमा समस्या जटिल नबनेको उनको विश्लेषण छ।-नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया