काठमाडौंः तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छ ? कार्ड छ भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन ।
कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।
गृह मन्त्रालयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमार्फत सरकारले ७ माघबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।
बैठकले कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मोबाइलमा भए पनि कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुनेछ ।
विद्यालयमा चार दिन खुल्ने
यसैगरी, विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले बन्द गरिएका विद्यालय १६ माघदेखि २० गतेसम्म खोल्ने निर्णयसमेत गरेको छ ।
विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय खोल्ने निर्णय गरेको कोइरालाले जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई खोप लगाउन सो अवधिमा विद्यालयमा खोप अभियान नै चलाइनेछ ।
नियमित परीक्षा चल्ने, कोभिड भएकालाई छुट्टै व्यवस्था
यसैगरी, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ ।
यसरी परीक्षा सञ्चालन गर्दा कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछन् ।
बैठकले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाईबाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।
यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ भने विदेशबाट नेपाल भित्रिने नाकामा एन्टिजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोपको व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ । बैठकमा गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिर्देशक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, पर्यटनमन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायत सहभागि थिए ।
हवाइ टिकट काट्दा पनि कार्ड चाहिने
सरकारले हवाइजहाजमा यात्रा गर्ने यात्रुहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि हवाइ यात्रालाई सुरक्षित बनाउन भन्दै सरकारले हवाइजहाजमा यात्रा गर्ने यात्रुहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य गरेको हो ।
यो व्यवस्था लागू हुँदा अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्नेछ । त्यसका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन भइसकेको गृह मन्त्रालयले जनाएको छ । राजधानीबाट ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया