श्रावण ४, २०८२ आइतबार July 20, 2025

काठमाडौंका घर-घरमा अर्गानिक उत्पादन पुर्‍याउन सुरु भयो स्टार्टअप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट स्लो भयो । जुन उपायले पनि सोचेजस्तो स्पिड पाइएन । अनि हाम्रो दिमाग तात्न थाल्छ । सहन गाह्रो हुन्छ । हामी सेवा प्रदायकलाई कल गर्छौं र प्रश्न तेर्साउँछौँ, इन्टरनेटको स्पिड किन यस्तो ?

मोबाइल एकैछिन चलेन, चार्ज टिकेन । यस्तो लाग्छ, यो भन्दा झुर जीन्दगी पनि अरु कुनै हुन सक्छ र ! प्रविधिसँग जाेडिएका सेवामा अलिकति पनि सम्झौता गर्न नचाहने हामीले हाम्रो शरीरलाई दिइरहेको भोजन कति गुणस्तरीय र लाभदायक छ भनेर कति समय खर्चिने गरेका छौं त ? सायद धेरै नै कम ।

मानवीय औद्योगिक गतिविधिले हाम्रो पर्यावरणमा प्रतिकूल प्रभाव परिरहेको छ । प्रतिदिन स्वास्थ्य चुनौती पनि बढिरहेको छ । यस्ता यावत् अप्ठ्यारालाई परास्त गर्न विगत पाँच वर्षदेखि ‘काठमाडौं अर्गानिक्स’ लागिरहेको छ ।

सन् २०१३ ताका भुवन केसी र उनकी श्रीमती निशा तौजाले केसी मिलेर कृषि फार्म खोलेका थिए । अर्गानिक उत्पादनका लागि टोखा नगरपालिकाको २० रोपनी जग्गामा खोलिएको फार्मले सोचेजस्तो गति लिन सकेन । कारण थियो, अव्यवस्थित बजार ।

बजारमा विषाक्त खानेकुरा मात्रै पाइन्छ भनेर गुनासो गर्ने ग्राहकले पनि अर्गानिक खानेकुराको मोलतोल उस्तै हिसाबले गरेको पाएपछि उनीहरूलाई लाग्यो, केही त फरक सोच्नपर्छ ।

भुवन भन्छन्- ‘अर्गानिक उत्पादनमा होइन, यहाँ त बजार र वितरणमा समस्या थियो । यस्तो अस्वस्थ प्रतिस्पर्धाबाट बाहिरिनुपर्छ  भन्ने सोचेर हामीले उत्पादनको कामलाई ठप्प गर्‍याैं । साथै उत्पादक र ग्राहकलाई जोड्ने पुलको रुपमा काम गर्ने निधो गर्‍याैं ।’

‘अन्य व्यवसायीले जस्तै डिलर र ठाउँ-ठाउँमा पसल खोलेर व्यापार गर्न धेरै खर्चिलो थियो । स्थापित हुन पनि धेरै समय लाग्ने । हाम्रा लागि ईकमर्समा जोडिनु जस्तो उत्तम विकल्प अरू कुनै लागेन । एक ठाउँमा वेयरहाउस खोलेर उपत्यकाभरका ग्राहकसँग जोडिन सकिन्छ । गोदाम, विभिन्न ठाउँमा शटर भाडाको झमेलामा किन पर्ने !’

उनले अगाडि भने, ‘फेरि हाम्रा ग्राहकहरू पनि सीमित छन् । स्वस्थकर खानाको महत्व बुझेको जमात थोरै भएको काठमाडौंमा धेरैलाई त अर्गानिकको फाइदा नै बुझाउन बाँकी थियो । यस्तोमा समस्त बजारलाई एकै ठाउँमा समेट्न हामीले ईकमर्स नै रोज्यौँ ।’

स्थानीय उत्पादनले बजार नपाएको कुराले उनीहरूलाई पिरोलेको थियो । साथै अर्गानिक खानेकुरा घर-घरमा पुर्‍याउनु पनि थियो । त्यसका लागि सबैभन्दा पहिला काठमाडौंकै ग्राहकलाई केन्द्र बनाए ।

कर्णालीका केही खानेकुरा र काभ्रेको किवीबाट उनीहरूले ग्रोसरीको परीक्षण डेलिभरी सुरू गरे । त्यतिबेला नजिकका साथीभाइ र चिनजानका व्यक्तिले निकै सहयोग गरेको भुवन सम्झन्छन् । विस्तारै अन्य ग्राहकले पनि अर्डर गर्न थाले ।

स्थापनाकालदेखि नै कर्णाली प्रदेशका उत्पादनलाई मूलधारमा ल्याउनु कम्पनीको पहिलो प्राथमिकता थियो । कर्णाली नै किन ? भन्ने हाम्रो प्रश्नमा भुवन भन्छन्, ‘कर्णालीको उत्पादन अर्गानिक छ । साथै त्यहाँको उत्पादनले उपयुक्त बजार पाएको छैन ।’

हेर्दा राम्रो ब्रान्डिङ र प्याकेजिङ भएको सामान किन्ने बानी परेका ग्राहकले याे स्टार्टअपकाे प्याकेजिङ मन पराउन केही समय लाग्याे नै ।

‘अटोमेटेड प्याकेजिङ जस्तो हुँदैन । हामीसँग पहुँच पनि छैन । हामी गुणस्तरमा केन्द्रित छौं । खाएर हेर्नुस, चित्त नबुझे पैसा फिर्ता हुन्छ,’ यो पाँच वर्षमा धेरै दोहोर्‍याइएका वाक्यांश हुन् ।

उनी भन्छन्, ‘धेरै कुरा सिक्ने मौका मिल्यो । अझै सिक्दैछौँ । रसायनयुक्त सामग्री बाटोमा तीन महिना रोकिए पनि बिग्रिदैन । ग्राहकलाई त्यही राम्रो लाग्छ । हाम्रो सामानमा दुई/चार दिनमै घुन लागिदिन्छ । हामी सबैले विषादीयुक्त खाना र विषादीमुक्त खानाबीचको फरक बुझ्न/बुझाउन जरुरी छ ।’

नेपालमा नै उच्च पोषणयुक्त खाना उपलब्ध हुँदा पनि विषादीयुक्त विदेशी उत्पादन आयात नराेकिएकाे उनकाे तर्क छ ।

‘धेरैलाई यो कुरा थाहै छैन भन्ने जानेपछि हामीले राजधानीका ठूला रेस्टुराँहरूमा प्रदर्शनी समेत गर्‍याैं । जसले नेपालमा पनि स्वस्थकर र उच्च पौष्टिक खानाको उत्पादन हुन्छ भन्ने धेरैलाई थाहा भयो । त्यसबेला जुम्लाको कोदोको परिकार, चिनोको सलाद र कागुनोको खिर धेरैले मन पराएका थिए,’ भुवन सुनाउँछन् ।

ग्रामीण भेगबाट ढुवानी गर्नुपर्ने हुँदा केही महङ्गो भएता पनि गुणस्तरलाई हेर्दा पछुताउन नपर्ने उनको तर्क छ । कम्पनीको ईकमर्स प्लेटफर्ममा अहिले ६०० अर्गानिक उत्पादन सूचीकृत गरिएका छन् । जसमा ९० प्रतिशत नेपाली र अन्य १० प्रतिशत विदेशी उत्पादन छन् ।

नेपालमा उत्पादन नहुने स्वस्थकर खानाका पारखीलाई उक्त १० प्रतिशतले समेट्ने उनको भनाइ छ ।

कर्णालीका उत्पादनलाई विशेष प्राथमिकता दिएपनि हालसम्म ५० जिल्लाका किसानको अर्गानिक उत्पादनलाई याे टिमले ग्राहकसम्म पुर्‍याइसकेको छ ।

आगामी एक वर्षमा कर्णाली प्रदेश सरकार, वर्ल्ड फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन र नेपाल सरकारको खाद्य गुणस्तर केन्द्नसँग सहकार्य गर्ने योजना रहेको उनले जानकारी दिए ।

नेपाल भौगोलिक हिसाबले विविधतापूर्ण भएकाले फरक स्थानमा फरक किसिमको उत्पादन हुन्छ । यसलाई मध्यनजर गर्दै सातै प्रदेशमा डेलिभरी सेवा उपलब्ध गराउने कम्पनीको परिकल्पना छ ।

पाँच वर्षमा २५ हजार ग्राहकलाई सेवा दिइसकेको कम्पनीले ८० हजारभन्दा धेरै डेलिभरी गरेको छ । जसमा दैनिक सयभन्दा बढी डेलिभरी गरिरहेको भुवनले सुनाए ।

काठमाडौंको बाटो र घर नम्बर गुगल म्यापको भरमा पत्ता लगाउन सम्भव छैन । जसका कारण डेलिभरी सर्भिसमा सकस पर्ने गरेको उनी बताउँछन् । फलस्वरुप डेलिभरी खर्च पनि महंगो हुने गरेको छ ।

पाँच लाख रुपैयाँबाट सुरू गरेको ‘अर्गानिक काठमाडौं’ को लगानीले अहिले करोडौँको पुँजीमा आफूलाई पुर्‍याइसकेको छ ।

अहिले कम्पनीले १८ जनालाई नियमित रोजगारी दिइरहेका छ । अर्गानिक फुडलाई सबै नागरिकको पहुँचमा पुर्‍याउन कम्पनीले काम गरिरहेकाे छ ।

फरक शैलीको काम पछ्याएको कम्पनीले सन् २०२० मा बेस्ट अनलाइन सस्टेनेबल प्रडक्ट मार्केटप्लेसको एक्सिलेन्स अवार्ड फर इको-कन्सियस प्रडक्ट अवार्ड पनि पायाे, जसले झनै हौसला मिलेको भुवन सुनाउँछन् ।

ईकमर्स सेवामा ग्राहक तथा बिक्रेताले कम्पनीको वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम र फोनकल मार्फत जोडिन सक्छन् । बिक्रेताहरूका लागि वेबमा फारम भर्ने सुविधा छ ।

बिक्रेताको उत्पादनको गुणस्तरका आधारमा मार्केटिङमा सहयोग पुर्‍याउन कम्पनी प्रतिबद्ध रहकाे उनकाे भनाइ छ ।

नेपालमा स्टार्टअप कम्पनीका लागि उपयुक्त इकोसिस्टम नै नभएको उनको बुझाइ छ । केही लगानीकर्ताले स्टार्टअपलाई सहयोग गर्ने गरेको भएता पनि सबैका लागि सहयोगी नभएको उनी बताउँछन् ।

त्यस्ता कम्पनी तथा लगानीकर्ताले चाँडै फाइदामा जानसक्ने स्टार्टअपलाई मात्र सहयोग गर्ने गरेको उनकाे गुनासाे छ ।

‘भविष्यमा राम्रो गर्नसक्ने भिजन बोकेका स्टार्टअपलाई समेत समावेशी ढंगले समेट्न सकेमा स्टार्टअपहरू विस्तार हुन्छन् । यहाँ त त्यस्ता सोचलाई मौका नै दिइन्न,’ उनले भने ।

केही स्टार्टअपले स्थापित भइसकेको कम्पनीको सिको गर्ने परिपाटीप्रति भने उनकाे विमति छ । ‘त्यति मात्रै कहाँ होर ! लोगो पनि मिल्दोजुल्दो बनाएर ग्राहक भड्काउन खोज्छन् । जसले स्टार्टअपलाई झनै धरासयी बनाउँछ,’ उनले भने ।

एउटा स्थापित स्टार्टअपले कस्टमर केयर, क्वालिटी सर्भिस, ग्राहकको मागलाई राम्रोसँग पहिचान गरेको हुन्छ । तसर्थ अरुले गरेको काम सिको गर्नेभन्दा पनि उपभोक्ताको माग र बजारलाई अध्ययन गर्नमा धेरै समय खर्चिनुपर्ने उनको सुझाव छ ।

अहिले फुडटेकमा मात्रै काम गरिरहेको कम्पनीले निकट भविष्यमा नेपाली उत्पादनको मार्केटप्लेसका रुपमा काम गर्ने याेजना ल्याएकाे छ ।

नेपाली फर्निचर, ज्वेलरी, लत्ताकपडा र धातु लगायत सबै किसिमका नेपाली सीप र उत्पादन एकै ठाउँमा उपलब्ध हुनेछन् । नेपाली उत्पादनलाई बढावा दिई विदेशी आयातलाई कम गर्न कम्पनीले यस्तो रणनीति अघि सारेको हो । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार