काठमाडौंः अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित बन्दै गएका छन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भने बुधबारसम्म संसद्बाट एमसीसी परियोजना हालकै अवस्थामा पास गर्ने विषयमा सहमत हुन सकेका छैनन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपालभित्र एमसीसी परियोजनाको विषयमा दुई धार देखिएको छ भने गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छ ।
एमसीसीले गठबन्धनमा गडबड
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी परियोजना जसरी पनि अघि बढाउनुपर्ने भन्दै गठबन्धनमा रहेका अन्य दलका नेताहरूमा सहमति गर्न दबाब बढाउँदै आइरहेका छन् भने उनीमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई अघि बढाउने विषयमा सहमति गर्न नसकिने भन्दै देउवालाई रोक्दै आइरहेका छन् ।
प्रधानमन्त्री देउवाले भने पटकपटकको गठबन्धन बैठक र शीर्ष तहको बैठकमा एमसीसी परियोजना अघि नबढाए सत्ता गठबन्धनमा नै गडबड हुनेसम्मको चेतावनी दिइसकेका छन् ।
देउवाको सो चेतावनीपछि स्थानीय तहको निर्वाचनका विषयमा पनि सत्ता गठबन्धनमा मतभेद देखिन थालेको छ । गठबन्धन बैठकबाटै जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनिसकेको र सोहीअनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँगसमेत निर्वाचनलाई निष्कर्षमा पु-याउनेगरी छलफल गरिसकेका छन् ।
तर, एमसीसीको विषयमा विवाद देखिँदै गएपछि स्थानीय तहको निर्वाचनका विषयमा पनि गठबन्धन आबद्ध दलका नेताहरूको फरकफरक धारणा आउन थालेको छ । संविधानसँग बाझिएका निर्वाचन कानुन संशोधन नै नगरी निर्वाचनमा अघि बढेको भन्दै गठबन्धनभित्र असन्तुष्टि बढेको हो ।
एमसीसी र निर्वाचन दुवै विषयमा गठबन्धनमा गडबड देखिन थालेपछि माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपाललाई दुवै विषयमा सहमति गरेर आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने कि एमसीसीकै कारण गठबन्धनबाट अलग हुने भन्ने विषय पेचिलो बन्दै गएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया