श्रावण ४, २०८२ आइतबार July 20, 2025

रेलका कुरा गफ मात्रै, पाँच बर्षमा डीपीआर पनि बनेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ ।

पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन त्यसपछि बनेका स्थानीय तहका र अन्य सरकारले पनि उपत्यकामा रेल गुडिहाल्ने जस्ता भाषण गरे तर सरकारमा हुनेको भाषणको थेगो र सरकारी नीति तथा कार्यक्रमको हिस्साजस्तै बनेकोे मेट्रो रेल निर्माण अहिलेसम्म गफमै सीमित भएको छ ।

न अहिलेसम्म निर्माणको ढाँचा (मोडल) तय भएको छ, न लगानीको सुनिश्चितता नै । पाँच वर्षसम्म नेतृत्वको भाषणमा मात्र होइन त्यसको निकैअघि नै काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे अध्ययन भएको हो ।

सन् २०१२ मा नै कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो कम्पनीले काठमाडौँको पाँचवटा रुटमा ८७.१८ किलोमिटर मेट्रो रेल निर्माण गरी सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो तर त्यो अध्ययन प्रतिवेदन अहिलेसम्म पनि अघि बढ्न सकेको छैन । रेल विभागका महानिर्देशक दीपक भट्टराईले काठमाडौँ उपत्यकाको यातायात तथा ट्राफिक व्यवस्थापनका लागि मेट्रो रेल सञ्चालनको विकल्प नरहेको बताउँदै मेट्रो रेल निर्माण सरकारको प्राथमिकतामा रहेको दाबी गरे ।

रेलसम्बन्धी अध्ययनको काम अन्तर्राष्ट्रिय परामर्शदाताबाट गराउनुपर्ने तर केही वर्षदेखि विश्वव्यापी कोभिड १९ को महामारीका कारण ती काम अगाडि बढ्न नसकेको तर्क उहाँले गर्नुभयो । काठमाडौँको चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किमि, कीर्तिपुर–कालीमाटी–नयाँबानेश्वर–एयरपोर्टसम्मको ११.१५ किमि, कोटेश्वर–चावहिल–स्वयम्भू–कोटेश्वरसम्म २८.५३ किमिमा मेट्रो रेल निर्माणका लागि अध्ययन गरिएको थियो । त्यसैगरी स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११.७० किमि र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबुसम्म १३.८० किमिमा अध्ययन गरिएको थियो । एक दशकअघि नै गरिएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा मेट्रो रेल निर्माण गर्न करिब साढे पाँच खर्ब रुपियाँ लगानी लाग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो ।

बनेन डीपीआर

सम्भाव्यता अध्ययन भएको करिब आठ वर्षपछि महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न वि.सं. २०७६ माघमा रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सलट्यान्ट (जेभी) बीच एक वर्षभित्र प्रतिवेदन बुझाउने गरी सम्झौता भई काम अगाडि बढाइएको थियो जुन अहिलेसम्म सम्पन्न हुन सकेको छैन । अन्य चार रुटको डीपीआर निर्माण सुरु हुन सकेको छैन ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले महाराजगञ्जदेखि सातदोबाटोसम्म निर्माण गरिने प्रस्तावित मेट्रो रेलमार्ग ललितपुर खण्डमा एलिभेटेड (जमिनमाथि) निर्माण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ तर रातो मत्स्येन्द्रनाथको रथ यात्रा त्यही रुट भएर पर्ने भएकाले ललितपुर महानगरपालिका र अन्य सङ्घ, संस्थाले सो क्षेत्रमा जमिनमाथिबाट मेट्रो रेल निर्माण नगर्न दिएको सुझाव र दबाबका कारण अध्ययन कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले रेल विभागलाई पत्राचार नै गरेर काम अगाडि नबढाउन आग्रह गरेको जानकारी दिए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले महाराजगञ्जदेखि सातदोबाटोसम्मको मेट्रो रेल निर्माणको डिजाइन ललितपुरको सांस्कृतिक महत्व र भावनाविपरीत रहेको बताउँदै ललितपुर क्षेत्रमा एलिभेटेड (जमिनमाथि) मेट्रो रेल आफूहरूलाई स्वीकार्य हुन नसक्ने भएकाले रेल विभागलाई कार्य अगाडि नबढाउन पत्राचार गरिएको स्पष्ट पारे । उनले भने, “रातो मत्स्येन्द्रनाथको रथ जाने रुटमा भूमिगत मेट्रो रेल निर्माण गर्नुबाहेक अरू कुनै विकल्प हुनै सक्दैन । धार्मिक दृष्टिकोणले असम्भव हुने भएकाले महानगरले रेल विभागलाई सो प्रस्ताव गरेको हो । ”

हरायो मोनो रेल

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा तीन वर्षभित्रमा नै सञ्चालनमा ल्याइसक्ने कार्ययोजनासहित कार्यक्रम अगाडि बढाएको मोनो रेल पनि अहिलेसम्म गफमै सीमित भएको छ । मोनो रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अहिलेसम्म तयार हुन सकेको छैन ।

काठमाडौँको चक्रपथमा मोनो रेल सञ्चालनका लागि एक वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न काठमाडौँ महानगरपालिका र चाइना रेलवे कम्पनी लिमिटेड (सीसीआरसी, ब्युरो २५) बीच काठमाडौँ, २०७५ पुस ४ गते नै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । मोनो रेल सञ्चालनका लागि त्यसको सम्भाव्यता अध्ययनसमेत (फिजिबिलिटी स्टडी) समेत चाइना रेलवे कम्पनी लिमिटेडले नै गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको विस्तार कार्य अगाडि बढ्न नसक्दा मोनो रेलका लागि डीपीआर हुन नसकेको बताए ।

चक्रपथ विस्तारकै कारणले मोनो रेलको काम अगाडि बढ्न नसकेको बताउँदै उनले मोनो रेल चक्रपथमा नै सञ्चालन गर्ने भएकाले चक्रपथको विस्तार कार्य नभएसम्म डीपीआरको कार्य अगाडि बढ्न नसक्ने स्पष्ट पारे । उनले भने, “अहिलेको चक्रपथमा डीपीआर निर्माण गर्ने हो भने चत्रपथ विस्तारपछि फेरि अर्को डीपीआर निर्माण गर्नुपर्ने हुन्छ । ” चक्रपथलाई तीन चरणमा विभाजन गरी मोनो रेल निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार