काठमाडौंः मधेसवादी दल पुनः विभाजन उन्मुख देखिएका छन् । विभिन्न ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा)को गठन भएको थियो । तर एक वर्ष नपुग्दै जसपा विभाजन भयो । जसपा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी (लोसपा) र जसपा फेरि फुटको सँघारमा पुगेका छन् ।
अहिलेको जसपा र लोसपामा विवाद चर्किंदै गर्दा यी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । जसपामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवका बीचमा विवाद चर्किंदै गएको छ । वरिष्ठ नेता अशोक राई मौन बसेका छन् । यद्यपि, राईले समेत डा. भट्टराईलाई नै समर्थन गर्र्ने बताइएको छ ।
अध्यक्ष यादवको कार्यशैलीप्रति असहमति जनाउँदै भट्टराईले पार्टी विधानअनुसार चल्नुपर्ने बताउँदै आएका छन् । विभिन्न निर्णयहरूमा असहमति जनाउँदै भट्टराईले अध्यक्ष यादवबाट असन्तुष्ट नेताहरूको सहयोगमा पार्टी विभाजन गर्ने अवस्थासम्म पुगेका छन् ।
भट्टराईनिकट नेताहरूले यादव आफ्नो कार्यशैली सुधार्दै पार्टीलाई विधानअनुसार अगाडि नबढाए अध्यक्षकै जिम्मेवारीबाट हटाउन सकिनेगरी तयारी भइरहेको जानकारी दिए । तर, अध्यक्ष यादवनिकटका नेता पार्टी विधानअनुसार नै अगाडि बढेको भए पनि केही नेताले मनोमानी गर्न खोज्दा विवाद भएको बताउँछन् ।
जसपा कार्यकारी समितिका सदस्य रामनरेश रायले पार्टी विधानअनुसार चल्न नसकेको आरोप लगाए । पार्टी विधानमा दुई अध्यक्षको व्यवस्था भए पनि एक मात्रै अध्यक्ष रहेकाले अर्को अध्यक्ष थप्नुपर्ने उनले बताए ।
‘पार्टी विधानअनुसार चल्नुपर्छ । कुनै निर्णय गर्दा पार्टीको बैठक बसेर गर्नुपर्छ । आफूखुसी निर्णय गर्न थालेपछि पार्टीलाई अगाडि कसरी बढाउने ?’ रायले भने, ‘पार्टी विधानमै दुई अध्यक्षको व्यवस्था छ । त्यसैले अर्को अध्यक्ष छिट्टै चयन गर्नुपर्ने विषय पार्टीमा उठ्दै आएको छ ।’यो समाचार राजधानी दैनिकमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया