काठमाण्डौः सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ।
एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूलाई कार्यक्रम तालिकासहित आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन्।
पोखरेलले जारी गरेको निर्देशनअनुसार कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नेछन्। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी सहभागी रहनेछन्।
प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज तथा सहइञ्चार्ज, प्रदेश कमिटी पदाधिकारी, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारीलगायत सहभागी हुने एमालेले जनाएको छ।
एमालेले तय गरेअनुसार फागुन १–२ मा प्रदेश नं. १ को विराटनगरमा, फागुन ३–४ गते मधेस प्रदेशको जनकपुरमा, ६–७ गते वाग्मतीको काठमाडौंमा, फागुन ८–९ मा गण्डकीको पोखरामा प्रशिक्षण हुनेछ। त्यस्तै लुम्बिनी प्रदेशका बुटवल र दाङमा फागुन ११–१२, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४–१५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६–१७ गते प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ।
सातवटै प्रदेशमा कार्यक्रम सकेपछि जिल्ला र महानगर तथा सबै स्थानीय तहमा कार्यक्रम गर्ने योजना एमालेले बनाएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेपछि पार्टीले आन्तरिक तयारी र संगठन बलियो बनाउन भेला र प्रशिक्षणको कार्यक्रम आयोजना गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ‘समयमा निर्वाचन होस् भन्ने एमालेको माग थियो।
सरकारले निर्वाचनको मिति घोषणा गरेको छ। यसलाई समयमै सम्पन्न गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन पनि आवश्यक छ भने अर्कोतर्फ पार्टी पंक्तिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी गराउनु र एमालेको सरकारले गरेका कामबारे थप जानकारी गराउनु पार्टीको दायित्व भएकाले अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो’, उनले भने।
उता एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले संगठन विस्तार र चुनाव प्रचारप्रसार एकै साथ गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको प्रचारप्रसार तथा संगठन निर्माण र विस्तार एकसाथ गर्ने निर्णय गरेको हो। एमालेका कार्यकर्तालाई प्रवेश गराउने दाउमा रहेको एस पार्टीले निर्वाचनमा स्थानीय स्तरमा संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया