चैत्र १६, २०८० शुक्रबार March 29, 2024

पार्टीमा कुनै तिक्तता छैन : डा. शेखर कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।”

सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै केन्द्रीय सदस्य डा कोइरालाले कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गर्नुभयो । उहाँले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गर्नुभयो । उहाँले लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको १४औँ महाधिवेशनले एउटा तिथि बसालेको बताउँदै नेपाली कांग्रेस अर्धवाचन र वाचन गरेर नेतृत्व छनोट गर्ने पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले एमसिसी देश र जनताकै हित छ, कुनै पनि ठाउँमा राष्ट्रघात नभएको प्रष्ट पार्दै आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएर छाड्ने कुरामा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाली कांग्रेस जहिले जनता र राष्ट्रका निम्ति अघि बढिरहेको बताउनुभयो । कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य राजीव कोइरालाले आम नागरिकको आस्था र विश्वास बोकेको कांग्रेस जनताको चाहनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सरिता प्रसार्इँ, अमृत अर्याल, नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, नेता डा चन्द्र भण्डारी, कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँ, नेता गुरुराज घिमिरेलगायतले बोल्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया