वैशाख १३, २०८१ बिहिबार April 25, 2024

कांग्रेस असन्तुष्ट समूहको रणनीति : बन्दसूचीमा वरीयताको सुनिश्चितता, प्रतिशतमा लचकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संस्थापन पक्षविरुद्ध आन्दोलन गर्दै आएको कांग्रेसको इतर समूहले समानुपातिकतर्फको बन्दसूचीको वरीयतामा सुनिश्चितता र प्रतिशतमा लचकता अपाउने नीति अंगीकार गरेको छ । सूची हेरफेर गर्दा आफ्ना मान्छेको वरीयता अगाडि राख्न सके समानुपातिक सांसद बन्ने सम्भावना बढ्ने भएकाले इतर समूहले यसलाई प्राथमिकतामा राखेको हो ।

वरीयतामा आफ्नो माग सम्बोधन भए हाल राख्दै आएको ४० प्रतिशतको अडानमा लचकता अपनाउन सकिने इतर समूहको योजना छ । इतर समूहले आफ्नोतर्फबाट ४४ जनाको नाम संस्थापन पक्षलाई बुझाएको छ । प्रतिशतमा लचकता अपनाएर समानुपातिकबाट निर्वाचित हुँदा आफ्नो समूहको प्रतिनिधित्व हुुने सुनिश्चितता इतर समूहले खोजेको हो । तर, संस्थापन पक्ष इतरका माग सम्बोधनमा अझै तयार देखिएको छैन ।

बिहीबार पदाधिकारी बैठकमा इतर समूहका नेताले वरीयता र प्रतिशतसहित आफ्नो पक्षबाट सिफारिस व्यक्तिको नाम पेस गरेका थिए । आफ्नो समूहले आयोजना गरेको चियापान सकेर इतर समूहका नेता बन्दसूचीबारे छलफल गर्न बोलाइएको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । नेताहरूका अनुसार छलफलमा बन्दसूची हेरफेरबारे छलफल भएको थियो ।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकमा संघतर्फको बन्दसूचीबारे छलफल भइरहेको र त्यसमा बटमलाइनबारे छलफल भएको छैन । ‘छलफलमै छौँ । प्रतिनिधिसभातर्फको एक सय १० जनाकै नाममाथि छलफल गरिरहेका छौँ । सच्याउने र थप गर्ने नामबारे टुंगो लागिसकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘हामीले कुनै बटमलाइन राखेका छैनौँ, छलफल गरेर मिलाउन भनेका छौँ ।’

अर्का एक पदाधिकारीका अनुसार इतरले समानुपातिकको सूची सच्याउँदा आफ्नो समूहको ४४ जनाको नाम समावेश गर्नुपर्ने अडान राखेको छ । इतरले ३ असोजमा बन्दसूची बुझाउनुअघि दाबी गरेकै नाम समावेश गर्नुपर्ने अडान राखेको उनले बताए ।

इतरले नाम समावेश गर्दा सूचीमा इतर र संस्थापनको वरीयता मिलाएर समावेश गर्नुपर्ने र समानुपातिकतर्फबाट निर्वाचित हुँदा नाम पर्ने सुनिश्चितता खोजेको अर्का एक पदाधिकारीले बताए । ‘बुझाएका नाम नाम वरीयता मिलाएर समावेश गर्न भनेका छौँ, समानुपातिकतर्फबाट निर्वाचित हुँदा इतरको नाम पनि पर्ने सुनिश्चितता खोजेका छौँ,’ ती पदाधिकारीले भने, ‘४० प्रतिशत मागअनुसार ४४ जनाको नाम समावेश गर्न भनेका छौँ । तर, उहाँहरू (संस्थापन) त्यो संख्यामा आयोगमा पठाएको सूचीको नाम परिमार्जन गर्न तयार देखिनुभएका छैन ।’

स्रोतका अनुसार इतरले ३५ प्रतिशतसम्मको बटमलाइन बनाएको छ । शेखर कोइरालानिकट एक केन्द्रीय सदस्यका अनुसार ४० प्रतिशत दाबी गरे पनि पार्टीभित्र आवश्यक नेतालाई समेट्ने सर्तमा समूह संख्या घटाउन तयार छ । ‘४० प्रतिशतकै बटमलाइन राखेका छौँ । तर, पार्टीमा आवश्यक साझा र सिनियर नेतालाई समेट्ने सर्तमा संख्यामा समझदारी गर्न तयार छौँ,’ ती केन्द्रीय सदस्यले भने ।

इतर समूहका नेता भूपेन्द्रजंग शाहीले आफ्नो समूहको चिन्ता पार्टीलाई परिणाम दिने पक्षमा नै रहेकाले प्रतिशतमा तलमाथि हुन सक्ने बताए । ‘मुख्य त पार्टीलाई एकताबद्ध बनाएर जाने हो । प्रतिशत मात्रै महत्वपूर्ण होइन, पार्टीलाई आवश्यक नेतालाई छुटाउन भएन । पार्टीमा न्याय र समानता हुनुपर्छ,’ उनले भने, ‘पार्टीलाई परिणाम कसरी दिन सकिन्छ भन्नेमै हाम्रो चिन्ता छ । आफूलाई भोट नहालेकै कारण नेतृत्वबाट कोही अन्यायमा पर्नुभएन ।’

इतरको निरन्तर विरोधपछि सभापति देउवाले बन्दसूची सच्याउन तयार रहेको भन्दै पदाधिकारी र नेताहरूसँग छलफल गरिरहेका छन् । बिहीबार बालुवाटारमा गठबन्धन बैठकसमेत चलेपछि कांग्रेसको पदाधिकारी बैठकसमेत प्रभावित बनेको थियो । सहमहामन्त्री पाण्डेले बैठक शुक्रबार बिहान ८ बजे बस्ने गरी टुंगिएको बताए । ‘गठबन्धनको बैठक पनि भएकाले सभापतिसहितका नेताहरू त्यता व्यस्त हुनुभयो । टुंगो लाग्ने गरी छलफल हुन सकेन । शुक्रबार बिहान ८ बजे बसेर थप छलफल गर्छौँ,’ उनले भने । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया