चैत्र १६, २०८० शुक्रबार March 29, 2024

एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ ।

बिहीबार बालकोटमा मध्यरातसम्म बसेको सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर आएका उम्मेदवारको उम्मेदवारी टुंगो लगाएको हो । सचिवालय बैठकले नमिलेका क्षेत्रमा परामर्श लिएर गृहकार्य गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ । औपचारिक निर्णय भने दुई वा दुईभन्दा बढी सिफारिस भएका क्षेत्र र स्थानीयस्तरमा तालमेल हुने क्षेत्रको पहिचानसहित गृहकार्य पूरा गरेर मात्रै प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको नामावली एकमुस्ट सार्वजनिक गर्ने एमालेको नीति छ ।

उपाध्यक्षहरूमध्ये युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ले प्रत्यक्षमा चुनाव नलड्ने जानकारी गराएका छन् । ‘मैले प्रत्यक्षमा उम्मेदवारी नलड्ने जानकारी गराएको छु,’ दाङ–३ बाट सिफारिस उपाध्यक्ष ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘संसद्भन्दा बाहिर रहेर नीतिगत, वैचारिक र सांगठनिक रूपले योगदान गर्छु । नयाँलाई अवसर दिनुपर्छ भन्ने आफ्नो विचार राखेको छु ।’ चुनाव खर्चिलो भएको र आफूस“गै पैसा नभएको भन्दै अघिल्लो निर्वाचनमा ज्ञवाली पछि हटेका थिए । त्यस्तै, बैठकमा अर्का उपाध्यक्ष बादलले पनि प्रत्यक्ष चुनाव नलड्ने जानकारी गराएका थिए । तर, उनले समानुपातिक सूचीमा बस्ने मनसाय राखेनन् ।

बैठकमा काठमाडौं– ८ बाट चुनाव नलड्ने जानकारी गराएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई भने अध्यक्ष ओलीसहित अधिकांश नेताले निर्णय पुनर्विचार गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले तलबाट दुई–तीनजना आकांक्षी रहेकाले निर्णय लिन सहज बनाउन पनि शाक्य उम्मेदवार बन्नुपर्ने बताएका थिए । सो क्षेत्रमा राजेश शाक्य, डा. अजयक्रान्ति शाक्यलगायत प्रतिनिधिसभामा उम्मेदवार बन्न इच्छुक छन् ।  अघिल्लोपटक प्रदेश सभाबाट निर्वाचित शाक्यलाई यसपटक भने प्रतिनिधिसभामै उठ्न अधिकांश नेताले सुझाव दिएका छन् । तर, उपाध्यक्ष शाक्यले भने केही दिन सोचेर मात्र अन्तिम निर्णय जानकारी गराउने बताएकी छिन् ।

बैठकमा उपमहासचिव गुरुङले प्रदेश सभामै चुनाव लड्ने मनस्थितिमा रहेको जानकारी गराएका छन् । अर्का उपमहासचिव विष्णु रिमालले चुनाव नलड्ने जानकारी गराएका छन् । सचिवालयका सबै सदस्यले आ–आफ्ना धारणा राखिसकेपछि पदाधिकारीको उम्मेदवारी लगभग टुंगो लागेको एक पदाधिकारीले बताए । त्यस्तै, बैठकमा दशबुँदे सहमति गरेर एमालेमै रहेका नेतालाई लिखित आत्मालोचना गराएर मात्र टिकट दिने विषय आइरहेकोबारे बैठकमा प्रश्न उठेपछि अध्यक्ष ओलीले प्रस्टीकरण दिएका थिए ।

‘गठबन्धनभित्र विवाद भएपछि एमालेभित्र विवाद देखाउन सुनियोजित रूपमा बाहिर मिथ्या भ्रमपूर्ण सूचना प्रवाह गराइएको हो, त्यस्तो आत्मालोचना गराउने भन्ने केही पनि सोच छैन,’ ओलीको प्रस्टीकरण उद्धृत गर्दै एक पदाधिकारीले भने । यद्यपि, ओलीले नेताद्वय भीम रावल र घनश्याम भुसालका विषयमा भने खुलेरै धारणा राखेका थिए । रावल लामो समयदेखि आफ्नो सम्पर्कमा नरहेको, तर तलबाट एकल नाम सिफारिसमा आएकाले चुनाव लड्ने मनसाय हो–होइन, जित्ने अवस्था छ कि छैन आफ्नो औपचारिक जानकारीमा नरहेकाले ती सबै विषयमा प्रस्ट भएपछि मात्र निर्णय लिनु उपयुक्त हुने सोचमा आफू रहेको ओलीले प्रस्ट्याएका थिए । रावल अछाम– १ बाट एकल सिफारिस भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया