वैशाख ११, २०८१ मंगलबार April 23, 2024

एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : उपेन्द्र यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल चुनावसँगै सकिएको र अब नयाँ धरातलमा नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,’ विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा आइतबार अध्यक्ष यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ–आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’यादव मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउतसँग पराजित भएका थिए ।

उनले अब संघ र प्रदेशमा कसको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीको कार्यसमिति बैठकले एउटै नीति लिने बताए । ‘कसले सरकार बनाउँछ, त्यसले नीति के लिन्छन् त्यसले हाम्रो मुद्दालाई कसरी हेर्छन् र राष्ट्रिय समस्याहरुलाई कसरी हल गर्छन् । ती कुराको प्रस्टताका आधारमा हामीले समर्थन, विरोध वा सहकार्यको कुरा हुन्छ,’ उनले भने, ‘मुलुक आर्थिकरुपले निकै तल जाँदै छ त्यसलाई कसरी सम्हाल्नेलगायत विषय हेरेर सरकारको समर्थन गर्छौं, आँखा चिम्लेर समर्थन गर्दैनौं ।’

अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए ।

नेपालको राजनीतिक इतिहासमा परिवर्तन ल्याउने दल परिवर्तनपछिको नेतृत्वबाट बञ्चित भएको र परिवर्तन उल्टिने गरेको यादवले बताए । ‘परिवर्तन बडो कठोर र बलिदानबाट प्राप्त हुने तर ग्रासरुटका जनताले त्यसको अनुभूति गर्न नपाउने दुर्भाग्यपूर्ण इतिहास छ,’ उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनबाट परिवर्तन ल्याएका दलहरुको आपसी एकताको महत्व छ । त्यसको एकताले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउँछ ।’

पुराना पार्टीहरुप्रति मतदाताको वितृष्णाले चुनावभन्दा अगाडि आएका स्वतन्त्र पार्टी, देश अलग बनाउने जनमत पार्टी र पहिलेकै अवस्थामा जानुपर्ने नीति लिएका राप्रपाले म्यान्डेट पाएको यादवको टिप्पणी थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया