वैशाख ६, २०८१ बिहिबार April 18, 2024

ग्वार्कोमा फ्लाइओभर बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६  मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) जियोकम/बीडीए/रेज (संयुक्त)ले तयार गरेको हो । २०७८ फागुन १९ मा फ्लाइओभरको डिजाइन सुरु भएको थियो । महानिर्देशक थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदै सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको निर्माण हुनेछ, निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् ।” फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । सो फ्लाइओभरको उचाइ ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको -याम  निर्माण गरिनेछ । चक्रपथको मुख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेल बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया