चैत्र १६, २०८० शुक्रबार March 29, 2024

मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वाग्मती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चावहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो। सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौं आए।

ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम थियो। तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अंकको ट्रायल रोक्न निर्देशन दियो। जसका कारण तोकिएको कार्यक्रम रोकियो।

७० अंकको ट्रायलका सन्दर्भमा वाग्मती सरकारले भाँजो हालेको यो नै पहिलोपटक होइन। गत असोज २ गते पनि मन्त्रालयले उक्त ट्रायल लागु गर्ने जमर्को गर्दा अहिलेकै जसरी रोकावट गरिएको थियो। त्यस किसिमको ट्रायलले यातायात क्षेत्रका बिचौलियालाई फाइदा पुग्ने भन्दै वाग्मती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसमा रोक लगाएको थियो।

मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार वाग्मती प्रदेश यातायात मन्त्रालयलाई लेखेको पत्रमा भने ट्रायलको आवश्यक तयारी नपुगेको, कर्मचारीलाई अनुशिक्षण नदिइएको, ट्रायल सेन्टरसँग आवश्यक समन्वय नगरिएको र कोटा सिस्टम नतोकिएको उल्लेख छ।

७० अंकको ट्रायल लागु गर्ने मामिलामा मन्त्रिपरिषद्को कार्यालयले बाहिरी आवरणमा माथिल्लो निकायलाई देखाएर त्यसमा भाँजो हाल्ने काम गरे पनि भित्री कारण भने यातायात क्षेत्रका बिचौलिया नै हुन्। वाग्मती यातायात मन्त्रालयका एक कर्मचारी भने मुख्यमन्त्रीको कार्यालय बिचौलियाको प्रभावमा परेर ७० अंकको ट्रायल रोक्न अग्रसर भएको बताए। ‘हामीले आवश्यक तयारी गरेर ७० अंकको ट्रायल आइतबारबाट कार्यान्वयनमा लान खोजेका थियौं तर मुख्यमन्त्रीको कार्यालयबाट दुईपटकसम्म रोक्ने प्रयास गरियो,’ उनले भने, ‘जनतालाई सरल र सहज सुविधा दिने विषयमा उहाँहरू किन रोक्न उद्यत हुनुभयो भन्ने कुरा आशंकाको विषय छ।’ संघीय सरकार मातहतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका ल्याएको डेढ वर्ष भइसक्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया