काठमाडौँ । प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन्। मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोपोन्मुख अवस्थामा पुगेको हो। साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो।
धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन्।
उमेरले ८२ वर्ष पुगेकी देवचुली–१५ की हरिमाया भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गासेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा बिस्तारै दुनाटपरी हराउँदै गएको बताउँछन्। चाडपर्वमा घरमा आउने पाहुना तथा आफन्तजनलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उनको गुनासो छ।
कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईँलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ। ‘पहिला पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यति बेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखी खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछि काले त दुनाटपरीनै नदेख्ने हुन की भन्ने पिर लाग्छ’, उनले भने।
केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो। विगतमा दुनाटपरी बनाएर पुर्याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको विगत १२ वर्षदेखि कर्मकाण्ड गराउँदै आएका पण्डित रिमप्रसाद आर्चाय बताउँछन् दसैँ, तिहारलगायतका चाडपर्व, विवाहमा व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आर्चाय बताउनुहुन्छ । उनले भने , ‘नयाँ पुस्तालाई पात गाँस्न सिकाउनुपर्छ।’ रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया