चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सत्ता गठबन्धनमा ‘पावर सेयरिङ’को खाका बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको पहिलो बैठकले सरकारमा गठबन्धनकै निरन्तरता हुने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी बैठकमा ‘अबको यात्रा खाका बनाएर प्याकेजमै अघि बढाउने निर्णय भएको’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले जानकारी दिए ।

‘सरकार गठनको कुरा मात्रै होइन, यो गठन्बधनको आवश्यकता र औचित्य सकिएको छैन भन्ने मुख्य निष्कर्ष बैठकको छ, सरकार बनाएर केके गर्ने भन्ने विषयमा पनि बैठकमा कुरा उठेको छ, कार्ययोजना बनाएरै अघि बढ्ने निष्कर्ष बैठकको हो,’ नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले राजधानीसँग भने ।

बैठकमा सहभागी अर्का नेताका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारसहितका विषयमा प्याकेजमा नै सहमति गरेर अघि बढ्ने विषयमा पनि औपचारिक छलफल सुरु भएको छ ।

‘पहिले निर्वाचनको सबै परिणाम आओस्, निर्वाचन आयोगले परिणाम राष्ट्रपतिसमक्ष बुझाओस्, त्यसपछि दलको नेताचयन गर्ने प्रक्रियाअघि बढ्छ र दलको आन्तरिक काम सकिएपछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारसहितका विषयमा प्याकेजमा नै खाका बनाएरै गठबन्धन अघि बढ्छ,’ बैठकमा सहभागी ती नेताले भने ।

बैठकमा नयाँ सरकार गठन तथा नेतृत्व (प्रधानमन्त्री), राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा सातै प्रदेशको प्रदेश सरकार सम्मको नेतृत्वका विषयमा औपचारिक छलफल भएको हो ।

अब प्रतिनिधि सभातर्फ दलले प्राप्त गरेको परिणामअनुसार संसद्मा कुनै पनि दलको एकल बहुमत नपुग्ने पक्का भएपछि बहुमतीय आधारमा सरकार गठनको प्रक्रियाअघि बढ्नेछ ।

अब बन्ने सरकार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहितको हुने देखिएको छ । गठबन्धनको बैठकमा यही आँकडामा छलफल भएको थियो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अब बन्ने सरकार वर्तमान गठबन्धनकै हुने र अरू दल पनि सरकारमा सहभागी हुने जानकारी दिए । ‘गठबन्धनकै सरकार बन्छ, सरकारमा अरू दल पनि सहभागी हुन्छन्,’ बैठकपछि सञ्चारकर्मीसँग कार्कीले भने ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत संसद्मा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदै छ ।

कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने भएको हो ।

त्यस्तै, पाँच स्वतन्त्र सांसद पनि प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्राप्त १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी ५७ क्षेत्रमा जित निकालेको छ । उसले समानुपातिकतर्फ १ सय १० मध्ये ३२ सिट पाउने देखिन्छ । दुवै प्रणालीतर्फ गरी कांग्रेसको प्रतिनिधिसभामा ८९ सिट हुने छ ।

यसैगरी, नेकपा एमाले संसद््मा दोस्रो हैसियतमा रहने पक्कापक्की छ । एमालेले प्रत्यक्षतर्फ ४४ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने समानुपातिक तर्फबाट ३४ सांसद पाउने पक्का जस्तै छ । यी सबै गरी एमालेको ७८ जना सांसद हुने अवस्था छ ।

त्यस्तै, संसद्मा तेस्रो दलको हैसियतमा नेकपा माओवादी केन्द्र रहने छ । सो दलले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फबाट १४ सिट पाउने अवस्था छ । सबै गरी माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सांसद हुने देखिन्छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सांसद जितेको छ । तर, समानुपातिकमा सो दलको प्रतिनिधित्व हुने नहुने टुंगो छैन । उसले ३ प्रतिशत थ्रेसहोल्ड पँरा नगरे समानुपातिकतर्फ सांसद नपाउन सक्छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाबाट ७-७ जना प्रतिनिधिसभा सदस्य बनेका छन् । स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ १४ सांसद बन्ने देखिन्छ । यी सबै गरी स्वतन्त्र पार्टीबाट २१ जना प्रतिनिधिसभामा सांसद हुने छन् ।

राप्रपाबाट ७ जना समानुपातिकतर्फ सांसद बन्ने देखिन्छ । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी राप्रपाले १४ जना सांसदको प्रतिनिधित्व गराउने पक्का जस्तै छ । यस्तै जसपाले पनि समानुपातिकतर्फ ५ जना सांसद पाउने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरी जसपाबाट १२ जनाको प्रतिनिधित्व हुनेछ ।

यस्तै, जनमत पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ भने समानुपातिकमा थ्रेस होल्ड कटाएका कारण ५ सिट पाउने देखिन्छ । यी सबै गरी सो पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद हुने छन्् भने सो दल राष्ट्रिय दलसमेत हुनेछ ।

लोसपाबाट ४ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् । सो दलले अहिलेसम्म समानुपातिकतर्फबाट सांसद पाउने अवस्था छैन भने उसले थ्रेसहोल्ड नपाउँदा राष्ट्रिय दलसमेत बन्ने अवस्था छैन ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने सो दलले पनि थ्रेसहोल्डका लागि आवश्यक मत प्राप्त गर्न सकेको छैन ।

यस्तै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीबाट पनि प्रतिनिधिसभामा १-१ जना प्रत्यक्ष निर्वाचित बनेका छन् । उनीहरू पनि ‘थ्रेसहोल्ड’भन्दा धेरै पर छन् । राष्ट्रिय दल बन्न प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेर समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ल्याउनुपर्छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया