श्रावण ४, २०८२ आइतबार July 20, 2025

मुलुकमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ : नेता गच्छदार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन्।

विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिए।

उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए।

पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्वउप्रधानमन्त्री गच्छदारले भने, ‘वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ।’

अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, ‘निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन।’

नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया