काठमाडाैंः नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्।
नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन्।
उनले अहिलेको राजनीतिक स्थिति चुनौतीपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताए।
स्थापित पार्टीहरूको नेता, नेतृत्व,नीति र कार्यशैलीको विरोधमा नो भोटका रूपमा नागरिकहरूले स्वतन्त्रहरूलाई भोट दिएको नेता केसीकाे भनाइ छ।
उनले भने, ‘अहिलेको जुन खालको परिस्थिति छ। त्यसमा आउने यात्रा चुनौतीपूर्ण छ। जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि हाम्रा स्थापित पार्टीहरूका नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो। अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो।’
नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधिविहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रूपमा आफूले काम गर्ने बताए।
उनले भने, ‘सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा एउटा असल सांसदको रूपले मैले भूमिका निभाउँछु। कसैसँग केही माग्न जाने पक्षमा छैन। म मन्त्री ४-५ पटक भइसकेँ, त्यही मन्त्री हुने रहर छैन। नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ, तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरू आफूमाथि थुपार्ने सोच छैन।’
नेता केसीले नेपाली काँग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरे। उनले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया