वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

५ हजारमै पढ्नुस् नेपाली साहित्यका यी ५० कालजयी कृति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  मन परेको लेखकको पुस्तक किन्न जाँदा पाठकले आजभोलि मुटु र गोजी दह्रो लिएर जानुपर्छ ।

किनकि आर्थिक संकट चुलिएका बेला अचेल निस्किरहेका किताबको मोल एक हजार रुपैयाँ हाराहारी छ । साझा प्रकाशनले पनि अहिले मोटा किताब, मोटै मोलमा छाप्न थालेको छ । तर, साझाको प्रदर्शनी अवलोकन गर्दा पाठकको चाहना पुरानै किताबतिर धेरै देखिन्छ ।

पुराना धेरैजसो किताब आकारमा साना छन् । ती कम मोलका पनि छन् । कम मोलका किताब मूल्यवान् छन् । तर, बढी मोलका किताब बढी मूल्यवान् छन् त ? थोरै छन् यस्तो त ।

प्राइस (मोल) र भ्याल्यु (मूल्य) बीच विपरीत सम्बन्धजस्तो हुने रहेछ । प्राइसलाई नेपालीमा मूल्य भन्ने चलन चले पनि त्यो मूल्य हैन, मोल मात्र हो । मूल्य अथवा भ्यालु त पुस्तकको आयु र आत्मा हो । नेपाली साहित्यका कालजयी भन्न मिल्ने कृति थोरै छन् ।

यहाँ हामीले विभिन्न पुस्तक बिक्रेताहरूले दिएको लिस्ट, पाठकहरूसँगको कुराकानी तथा इकागज न्युज टिमसँगको छनौटका आधारमा केही पुस्तक छानेका छौँ । छान्दा कम माेल र बढी मूल्यका किताब परुन् भन्नेमा ध्यान दिएका छाैँ ।

यी नै किताब मात्र उत्कृष्ट भन्ने दाबी यो होइन । यो सूची समालोचक र गम्भीर पाठकका लागि पनि होइन । नेपाली साहित्यप्रति रुचि भएका वा हुन सक्ने वा हुनुपर्ने तर पुस्तक छनौट गर्न नसकिरहेका ‘नयाँ पाठक’का लागि हो ।

यो सूचीमा दिवंगत लेखकका कृति मात्र समावेश गरिएको छ । दिवंगत लेखकहरू यो आत्मप्रचारको जमानामा गयल छन् । उनीहरू सोसल मिडियामा छैनन्, आफ्ना प्रशंसाहरू सेयर गर्न सकिरहेका छैनन् । जीवित लेखकले आफैँ प्रचार र विज्ञापन गर्न सक्ने, अन्तर्वार्ता दिन सक्छन् । तर, जीवित लेखकका पनि राम्रा किताब पढ्न अनुरोध छ । मोल अलिकति बढी भए पनि राम्रा किताब सबैका पढ्नु नै पर्छ ।

सस्तोमा सार्थक किताब कसरी छान्ने भन्ने प्रश्नको जवाफमा मात्र यो सामान्य सूची बनाइएको हो ।

पाँच-सात हजार रुपैयाँ जति खर्च गर्नुभयो भने पाठकहरूले पचासवटा जति किताब किन्न सक्नुहुने रहेछ । नेपाली साहित्यको पठन छरिता, सजिला, साना, सस्ता, सार्थक, सदाबहार, सुन्दर कृतिबाट गर्दा नयाँ पाठकहरूलाई सजिलो हुनेछ । र, नयाँ नयाँ पाठकहरूले नयाँ लेखकलाई परोक्षमा भन्नु पनि हुनेछ- कृति राम्रो आकारले हुँदैन, त्यसको आत्माले हुन्छ । किताब सानो होस् वा ठूलो, तर पाठकको मनमा छाप छोड्न सक्ने होस् ।

प्रस्तुत छ, नेपाली कथा, उपन्यास, कविता, निबन्ध, नाटकका मानक मानिएका केही किताब :

उपन्यास-कथा 

नासो (गुरुप्रसाद मैनाली) — १६० रुपैयाँ
विश्वेश्वरप्रसाद कोइरालाका छ उपन्यास र दुई कथा– ८५० रुपैयाँ
पल्लो घरको झ्याल (गोविन्दबहादुर मल्ल ‘गोठाले’) – १३५ रुपैयाँ
अनुराधा (विजय मल्ल) — १७० रुपैयाँ
अविरल बग्दछ इन्द्रावती (रमेश विकल) — २८० रुपैयाँ
शिरीषको फूल (पारिजात)– ११० रुपैयाँ
आज रमिता छ (इन्द्रबहादुर राई)— २३० रुपैयाँ
खैरिनीघाट (शङ्कर कोइराला)— २० रुपैयाँ
वसन्ती (डायमनशमशेर) – २२० रुपैयाँ
घामका पाइलाहरू (ध. च. गोतामे) – ३०० रुपैयाँ
चपाइएका अनुहार (दौलतविक्रम विष्ट) — २०० रुपैयाँ
गुनकेशरी (भवानी भिक्षु) – ४५ रुपैयाँ
(भिक्षुको ‘आगत’ उपन्यासलाई ८ सय रुपैयाँ पर्छ तर सुन्दर छ)
सर्पदंश (तारिणीप्रसाद कोइराला) — २७५ रुपैयाँ
माधवी (मदनमणि दीक्षित) – ७०० रुपैयाँ
आँखीझ्याल (पोषण पाण्डे) — ४३ रुपैयाँ
द्वन्द्वको अवसान (राजेश्वर देवकोटा) – १६५ रुपैयाँ
नेपाली दन्त्यकथा (बोधविक्रम अधिकारी) – १३० रुपैयाँ
तिम्री स्वास्नी र म (मनु ब्राजाकी) – १५० रुपैयाँ
कारागार (वानीरा गिरि) — १८० रुपैयाँ
प्रत्येक ठाउँ प्रत्येक मान्छे (पिटर जे. कार्थक) – २९ रुपैयाँ

कविता  

भानुभक्तको रामायण र सबै कृति (भानुभक्त आचार्य) –२७५ रुपैयाँ
तरुण तपसी र ऋतुविचार (लेखनाथ पौड्याल)– २६५ रुपैयाँ
मुनामदन (लक्ष्मीप्रसाद देवकोटा) – ४५ रुपैयाँ
लक्ष्मी कवितासङ्ग्रह (सं. चुडामणि बन्धु) – २४० रुपैयाँ
उर्वशी (सिद्धिचरण श्रेष्ठ) – ६४ रुपैयाँ
आमाको सपना (गोपालप्रसाद रिमाल) – ११० रुपैयाँ
गौरी (माधव घिमिरे) — ६५ रुपैयाँ
घुम्ने मेचमाथि अन्धो मान्छे (भूपी शेरचन) – १२० रुपैयाँ

निबन्ध 

लक्ष्मी निबन्धसङ्ग्रह (लक्ष्मीप्रसाद देवकोटा) – २४० रुपैयाँ
भैरव अर्यालका काउकुतीजय भुँडीगलबन्दीइतिश्री  दश औतार – ४५० रुपैयाँ
एब्स्ट्रयाक्ट चिन्तन : प्याज (शङ्कर लामिछाने) – ७३ रुपैयाँ
बेलाइततिर बरालिँदा (तारानाथ शर्मा) – ३०० रुपैयाँ

नाटक

मुकुन्द इन्दिरा (बालकृष्ण सम)– १५० रुपैयाँ
मसान र यो प्रेम (गोपालप्रसाद रिमाल) – १६५ रुपैयाँ
कोही किन बरबाद होस् (विजय मल्ल) – ७० रुपैयाँ
गङ्गालालको चिता (हृदयचन्द्रसिंह प्रधान) –६५ रुपैयाँ
वैकुण्ठ एक्सप्रेस (मोहनराज शर्मा) – ४६ रुपैयाँ
वासु शशीका नाटक – १०३ रुपैयाँ

र, सस्तोमा पाइने छुटाउन नहुने गैरसाहित्यकाे एउटा किताब
विचार विज्ञान (खप्तड बाबा) : १२५ रुपैयाँ

(माथि दिइएकाे माेल किताबमा अंकित हाे । यसमा पुस्तक बिक्रेताहरूले यहाँहरूलाई छुट पनि दिनेछन् । छुट माग्न नभुल्नुहाेला ।) ईकागज

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोकुल बास्कोटाको टिप्पणी : सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
२०८१ वैशाख ७, शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते
२०८१ वैशाख ७, शुक्रबार
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटवार्ता
२०८१ वैशाख ७, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा तीन जनाको नाम सिफारिस
२०८१ वैशाख ७, शुक्रबार
सुर्खेतमा एन्फा महिला लिग छनोट
२०८१ वैशाख ७, शुक्रबार
क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध
२०८१ वैशाख ७, शुक्रबार
इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोटन, ११ हजार बढीलाइ अन्यत्र सारियो
२०८१ वैशाख ७, शुक्रबार