वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

राष्ट्रिय सहमतिको कुरा कांग्रेसले कुनै स्वार्थ राखेर गरेको होइन : रामचन्द्र पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले स्वार्थका लागि राष्ट्रिय सहमतिको कुरा नउठाएको बताएका छन् । उनले कांग्रेसमा पनि आफुले नै राष्ट्रिय सहमति कायम गरेर अहिलेको अवस्थामा जानुपर्छ भनेर प्रस्ताव गरेको तर, यसमा कुनै स्वार्थ नरहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बौल्दै पौडेलले अहिले मूलतः तीन कारणले राष्ट्रिय सहमतिको खाँचो रहेको बताए ।

उनले अहिले मुलुकको कमसल अर्थतन्त्र, भूराजनीतिक दवाव र शान्ति प्रक्रियाका कामको पूर्णताका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताए । उनले भने, ‘मैले अहिले मात्रै होइन, पहिलेदेखि नै राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ । तर कतिपयलाई आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोज्यो भन्ने हुनसक्छ, तर त्यो होइन । म पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा उभिएर आएको हुँ । देशलाई संकटबाट मुक्त गर्नु हामी सबैको कर्तव्य हुन जान्छ । हाम्रो देशको अर्थतन्त्र अहिले कमसल बनेको छ । देशको आर्थिक समृद्धिका लागि दलहरू मिल्नु आवश्यक छ । अर्को हामीमाथि नयाँ भूराजनीतिक दवाव छ, हाम्रो आकाशमाथि शीतयुद्ध मडारिरहेको छ ।’

नेता पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई यथाशीघ्र पूर्णता दिनुपर्ने र त्यसकालागि भए पनि दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘हाम्रो शान्ति प्रक्रिया अझै टुंगिएको छैन । यसलाई टुंगोमा पुर्याउनु हाम्रो कर्तव्य हो । शान्ति प्रक्रियाका जति पनि बाँकी काम छन्, द्वन्द्वका घाउहरू छन्, त्यहाँ हामीले मलम लगाउन सक्नुपर्छ,’ उनले भने । पौडेलले देशमा संघीयतासँगै कुशासन मौलाएको र भ्रष्टाचारीहरूले दलीय संरक्षणमा मनमौजी गरिरहेको आरोप लगाए ।

नेता पौडेलले मुलुकमा नेतृत्वको अभाव भएजस्तो महसुस भइरहेको बताए । ‘नेतृत्वको अभाव जस्तो महसुस हुँदैछ । राष्ट्रिय नेतृत्व र आत्मविश्वासको अभाव देखिरहेको छु । सत्ताको राजनीतिको दबदबा बनेको अवस्था छ,’ पौडेलले प्रश्न गर्दै भने, ‘निष्ठाको राजनीति किनारा लाग्दा निराशाका घण्टीहरू बजिरहेका छन् । नकारात्मक प्रवृत्तिले प्रोत्साहन पाइरहेको छ । असन्तुष्टिको घण्टी त बजिसक्यो, अब त्यसलाई सम्बोधन गर्न दलहरू एकतावद्ध हुने कि नहुने ?’

नागरिकले सुशासन चाहेको तर, सुशासनको अवस्था दयनीय बन्दा देशभर कुशासन मौलाएको भन्दै शासकीय विकेन्द्रीकरणसँगै भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको बताए । एउटा भ्रष्टाचारीलाई कारबाही गर्न नसकिरहेको भन्दै दलहरूले अपराधीलाई संरक्षण दिने र प्रोत्साहन दिने प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको राजनीति चुनौतीपूर्ण परिस्थितिबाट अघि बढिरहेकाले यसबाट बाहिर निकाल्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने बताए ।

उनले नेतृत्वले आत्मविश्वास गुमाएका कारण अहिलेको संकट पैदा भइरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि समेत सबै राजनीतिक दलहरू एक ठाउँमा उभिन सक्नुपर्ने बताए । ‘हाम्रो संविधान संकटमा परिरहेको महसुस हुन्छ । लोकतन्त्र जकडिएको अवस्थामा छ, अति दलबन्दीबाट लोकतन्त्र जकडिएको छ । पुर्वाग्रहहरूबाट लोकतन्त्र जकडिएको छ । विभाजित मानसिकताबाट ग्रसित बनेको छ,’ उनले भने, ‘त्यसैले लोकतन्त्र सत्ताको खेलमा जकडिएको छ । यस्तो खेलबाट लोकतन्त्रको संमृद्ध हुन सक्दैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया