श्रावण ४, २०८२ आइतबार July 20, 2025

सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष प्रचण्ड

अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।

‘वल्र्ड हिन्दू इकोनोमिक फोरम नेपाल च्याप्टर’ले आज यहाँ आयोजना गरेको ‘विजिनेस मिट २०२४’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसकिने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताउनुभयो ।

blogनेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएकाले आर्थिक समृद्धितर्फ ध्यान जान नसक्नु अस्वाभाविक नभए पनि राजनीतिक परिवर्तन भएको धेरै वर्षसम्म पनि जनअपेक्षित प्रगति नहुनु चिन्ताको विषय भएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । उहाँले अब कुनै पनि बहानामा आर्थिक समृद्धि र विकासलाई पछाडि पार्न नहुने बताउनुभयो ।

“अहिलेसम्मका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै नयाँ सङ्कल्पका साथ देश निर्माणमा होमिनै पर्छ”, उहाँले भन्नुभयो । मुलुक परिवर्तनका लागि राजनीति र विचारधारा आवश्यक भए पनि हरेक क्षेत्रमा हुने अति राजनीतिकरण नेपालको आर्थिक विकासका लागि बाधक रहेको आँैल्याउँदै उहाँले राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिएर आर्थिक समृद्धि तथा जनताको जीवनस्तर रुपान्तरणमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।

अति राजनीतिकरणबाट सीमित नेता कार्यकर्ता वा उनीहरुका नजिक रहेकाहरुले फाइदा लिए पनि जनता पछि पर्दारहेछन् भन्ने तथ्य भोगाइबाटै पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामीसँग साधन स्रोत, जनशक्ति, उद्योग व्यापारको अनुभवको कमी भएर होइन, अतिराजनीतिकरण र त्यसले सिर्जना गरेको अस्थिरताका कारण समृद्धि हासिल हुनु नसकेको हो भन्ने तथ्य स्वीकार गर्न अब हिच्किचाउनुपर्दैन । जबसम्म यो स्थितिको अन्त्य गर्न सकिँदैन, तबसम्म राम्रो साधन स्रोतको सही सदुपयोग गर्ने वातावरण बनाउन सकिँदैन ।”

निजी क्षेत्रलाई हेर्ने राजनीतिक र प्रशासनिक क्षेत्रको धारणा सही नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रको पनि एउटा पक्षले राज्यका नियम कानुन पालनाभन्दा उल्लङ्घनतिर नै जोड गर्ने गरेको औँल्याउनुभयो । जनयुद्ध र विभिन्न लोकतान्त्रिक आन्दोलनमा हजारौँ सहिदहरूको बलिदानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेको उल्लेख गर्दै उहाँले अब आफूहरुको ध्यान प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै सामाजिक–आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा आफूले पूर्वाधार विकासलाई प्राथमिकता दिएर मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरलयायत सडक, सिँचाइ र जलविद्युत् विकासमा राष्ट्रिय गौरवका परियोजनाको कार्यान्वयन सुरु गरेको र अहिले कतिपय आयोजना पूरा हुने क्रममा रहेको उहाँले बताउनुभयो । जलस्रोत क्षेत्रमा आशालाग्दो उपलब्धि हासिल हुनु समृद्ध नेपाल निर्माणको महत्वपूर्ण आधार भएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।

चीन र भारतसँग साझेदारी गरेर नै अघि बढ्न सकिने उल्लेख गर्दै उहाँले जनताको मौलिक अधिकारका रुपमा स्थापित शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता र हरेक क्षेत्रमा समावेशीकरण तथा समन्यायिक वितरणका माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिने आधार पैदा भएको बताउनुभयो ।

वलर्ड हिन्दू इकोनोमी फोरमका संस्थापक स्वामी विज्ञानन्दले मुलुकको अर्थव्यवस्था सुदृढ गर्न राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र शासक वर्गको दृढ इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । फोरम नेपाल च्याप्टरका अध्यक्ष प्रदीपमान वैद्यले नेपालको अर्थव्यवस्थालाई समृद्ध बनाउन फोरमले राजनीतिज्ञ तथा व्यावसायिक समुदायसँग नीतिगत बहस गर्दै आइरहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार