टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निर्वाचनको सरगर्मी बढ्दै जाँदा नयाँ पुस्ताका शिक्षित, इमानदार र सेवामूलक सोच भएका उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। त्यही क्रममा, जापानको आसिकागा विश्वविद्यालयबाट आर्किटेक्चरल तथा सिभिल इन्जिनियरिङमा स्नातक गरेका ई. अरुण खड्काले सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
ई. खड्काले आफ्नो उम्मेदवारीसँगै ‘सफा र शुद्ध एनआरएन जापान’ अभियानको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै उनले भनेका छन्, “बिगत खोतल्दिनँ, भविष्यको वाचा गर्दिनँ – तर जापानबासी नेपालीको सपना मेरो सपना हुनेछ।”
नेपाल इन्जिनियरिङ अध्ययन संस्थान (NEC) मा प्रविणता प्रमाणपत्र प्राप्त गरेका अरुणले जापानमा अध्ययन र इन्जिनियरिङ पेसामा लामो समय योगदान दिएका छन्। उनले जापानमा रहँदै विभिन्न इन्जिनियरिङ कम्पनीहरूमा कार्य गर्दै नेपाली समुदायसँगको सम्बन्ध मजबुत बनाउँदै आएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई मानव तस्करीविरुद्धको कठोर अभियानसँग जोड्दै, एनआरएन जापानलाई पारदर्शी, उत्तरदायी र नेपालीहरूको भरोसायोग्य संस्थाको रूपमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन्।
अरुण खड्काको उम्मेदवारीलाई जापानस्थित नेपाली समुदायका अग्रज तथा सहकर्मीहरू – दीपक गिरि, प्रकाश आचार्य, सुरज सापकोटा, मनोज चिलुवाल, राजेश भेषराज लिम्बु, प्रकाश भट्ट लगायतले समर्थन जनाएका छन्। उनीहरूले एक स्वरमा भनेका छन्, “उहाँको सामाजिक सेवाको पहिलो कदमलाई हौसला दिनुपर्छ। अरुणलाई आफ्नो अमूल्य मतद्वारा विजयी गराऔं।”
एनआरएनए जापानको यो निर्वाचनले नेपाली समुदायभित्र नयाँ पुस्ताको नेतृत्व, पारदर्शिता र उत्तरदायित्वप्रतिको अपेक्षालाई सम्बोधन गर्ने दिशामा नयाँ बहस सुरु गरेको देखिन्छ। ई. अरुण खड्काजस्ता उम्मेदवारहरूको सक्रियताले यसपटकको निर्वाचन थप प्रतिस्पर्धात्मक र जनमुखी हुने अपेक्षा गर्न सकिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया