श्रावण ३, २०८२ शनिबार July 19, 2025

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ ।

काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उहाँको जिकिर थियो । नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो ।

“संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उहाँले भन्नुभयो, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।” सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको विरोध गर्दै काङ्ग्रेस तनहुँले आज दुई निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ – १ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया