काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दावी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको हो।
बैठकले निर्वाचन आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
“पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयोगले जुन पत्र पठाएको छ, त्यो विषयमा जवाफसहित पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन अयोगलाई पत्र लेख्ने निर्णय भएको छ”, उनले भने। आयोगमा सहजीकरणका लागि पार्टीका तर्फबाट खटिएका प्रतिनिधि छिट्टै पत्र लिएर आयोग जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
गत पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो।
नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। आयोगले दुवै पक्षले पठाएकोे विवरण कानूनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो।
म्यानमारमा त्यहाँको सेनाले सत्ता आफ्नो हातमा लिएको घटनालाई अनुपयुक्त भएको निष्कर्ष निकाल्दै नेकपाले सो कदमको निन्दा गरेको छ। बैठकले म्यान्मामा लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिने निर्णयसमेत गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया