काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा जुट्न आव्हान गरेका छन् ।
७० औँ मदन जयन्तीको अवसरमा शुभकामना सन्देश दिदैँ बरिष्ठ नेता नेपालले कम्युनिष्ट आन्दोलनमा वैचारिक, राजनीतिक, सांस्कृतिक र आर्थिक विचलन देखिएको भन्दै सांगठनिक बेथितिको अन्त्य गर्नका लागि एमाले, सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आव्हान गरेका हुन् ।
‘विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक–आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।’ नेता नेपालले भनेका छन् ।
उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गरेको आरोप समेत लगाएका छन् । नेता नेपालले कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा संविधान माथि प्रहार हुनु दुखद भएको पनि बताएका छन् ।
उनले भने, ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया