काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कातिक मसान्तसम्म पार्टीको महाधिवेशन गर्ने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौँमा महाधिवेशन गर्ने मिति तय गरेको हो ।
बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्दै वडादेखि जिल्ला तहसम्मको निर्वाचन भदौ मसान्तसम्म सक्ने र सक्रियता सदस्यता वितरण असोज ७ गतेसम्म केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअनुसार वडा र गाउँ र नगर र प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म सम्पन्न गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।
प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिने छ । बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन आह्वान गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया