श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमालेमा पूर्वमाओवादी- ‘दिए खाने, नदिए हेरेर थुक निल्ने’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेको १०औं महाधिवेशन नजिक आइसक्यो । तर, विगत झै रौनक छैन । यसको एकमात्र कारण अध्यक्ष केपी शर्मा ओली हुन् । ओलीसँग अध्यक्ष प्रतिस्पर्धा गर्ने अरुसँग ल्याकत नहुँदा नेतृत्व चयनमा खासै ध्यान छैन । यो अर्थमा रौनकता कम हुनुको कारण ओली भन्न खोजिएको हो । अन्य हिसावले एमाले महाधिवेशन लागेकै छ ।

माधवकुमार नेपालको बर्हिगमनपछि ओली यति शक्तिशाली भए कि, कसैले मापन नै गर्न सक्ने अवस्था छैन । ओलीको प्रचण्ड तापमा भीमकाय शक्तिका भीमहरु पनि लुरुक्क भइसके । ओलीसँग सिङ्गौरी खेल्ने हिम्मत बटुल्न एमालेका वर्तमान नेताले ‘अलौकिक वा अनैतिक’ शक्ति नै प्राप्त गर्नुपर्छ ! नत्र सम्भव छैन ।

‘तेस्रो धार’का नाममा एमालेमै सञ्जीवनी बुटी खोजीरहेकाहरु भुत्ते भइसके । बेला–बेला भीम रावल र घनश्या भुसालहरु स्याकुने भाले झै बास्न खोज्छन् । फूल भोल्युम वीथ हेडफोनमा ‘रमरम मरौटी…’ सुनिरहेका ओलीले स्याकुने स्वर सुन्ने कुरै भएन । घनश्यामले ‘हेभी मेटल साउन्ड’ सुनाए पनि ओली सुन्नेवाला छैनन् । पाण्डुपुत्र झै भीमले सिंगै पहाड नै उचाल्छुभन्दा पनि फरक पर्ने छैन । रावल र भुसाल बाहेक अरु मूर्छित छन् ।

एमाले भित्रका ‘लडाकु दस्ता’ भनिएका माधव लाइनका नेताहरु अयोग्य भइसके । क्यान्टनमेन्टबाट जनमुक्ति सेनालाई अयोग्य भन्दै लखेटे झै कुनै न कुनै झोली भिराएर ओलीले एक दिन त लखेट्छन् नै ! अरुको त झन हालत के होला ? त्यसैले त पूर्वमाओवादीको भाग्य र भविष्य त १०औं महाधिवेशनको ‘ब्यालेट’मा निर्भर छ भनिन्छ । त्यसैले त मिस्टर क्लाउड र राता भट्टहरु ओलीसामु उत्तम शरणम !

गमक्क परेर एमालेको मञ्चमा बस्ने दिन सकिने चिन्ताले बादल कमरेडहरुलाई निद्रा परेको छैन । राता भट्टहरु भीम रावललाई अर्ति दिँदै हिडे पनि महाधिवेशनमा सौता पर्ने पीरमा मासु बिलाइरहेका छन् । ओली सपेरा भूमिकामा प्रस्तुत हुँदा टोपबहादुर र प्रभुहरु सांप झै नाचीरहेका छन् । १०औं महाधिवेशन ‘वान मिस्टेक लाइफ ड्यामेज’ भन्ने पूर्वमाओवादीहरु बल्ल बुझ्दैछन् । अर्थात ओलीको बोलीमा लोली नमिलाए यसै महाधिवेशनबाट स्वाहा हुनुपर्ने छ ।

मतदानबाट नेतृत्व चुन्दा सर्वनाश हुने कुरा बुझेका बादलहरुलाई जसरी पनि सर्वसम्मत नेता चुनिनुपर्नेछ । पूर्वमाओवादीले भाग खोस्यो भन्ने बुझाइ राख्नेहरुले देशभर ‘पुरानो एमाले’ अभियान चलाएको देखेका बादलहरुलाई जसरी पनि मतदान छल्नु छ ।

बादल ब्यालेट छल्दै वरिष्ठ उपाध्यक्ष बन्ने दाउमा छन् । टोपबहादुर उपाध्यक्ष, लेखराज र प्रभु सचिव बन्ने चाहना राख्छन् । तर, चाहना र प्राप्तिबीचको दूरी धेरै लामो हुन्छ । दूरी मेटाउन आफ्नो बर्कतीले मात्र भ्याउने अवस्था छैन । यस्तो अवस्थामा महाराजको शरण पर्नु एक मात्र विकल्प हुन्छ । अर्थात भविष्य ओलीकै हातमा छ ।

माधव एमालेमा हुँदा पूर्वमाओवादीको भ्यालु थियो । अर्थात ओलीले ठिकै स्थान दिएका थिए । किनकी, माधवसँग लड्न ओलीलाई शक्ति चाहिएको थियो । बादलहरु टेकोसम्म भए । तर, माधव बाहिरिएसँगै ‘घोसेनको ह्रास नियम’ लागु भएको छ । उपयोगीता घट्दै गयो । त्यसैले त बेला–बेला प्रभुहरु ओलीविरुद्व जिहाद छेड्न तम्सिन्छन् । के गर्नु हुटिट्याउने सागर थाम्दैन !

एमालेका महाधिवेशन प्रतिनिधिको प्याटन हेर्दा के प्रष्ट हुन्छ भने मतदानबाट नेतृत्व चुन्नुपर्ने अवस्था आए पूर्वमाओवादीको खैरात हुँदैन । देशभरबाट ८० प्रतिशतभन्दा धेरै प्रतिनिधि ‘अकबरी ओली’ चुनिएका छन् । यीनले एक–एक गरेर अकबरीहरुलाई मात्र भोट हाल्ने हुन् । यस्तो अवस्थामा धार नभएका भुत्ते तेस्रो धार र आफूलाई भाम क्रान्तिकारी मान्ने पूर्वमाओवादीको चाहना चितामा नपुग्नुपर्ने कारण हुँदैन ।

सेना बिनाको कमाण्डर जिम्मेवारीमा रहेका पूर्वमाओवादी नेताहरु जसरी पनि मदतान हुन दिनु हुन्न भन्ने पक्षमा दिलोज्यान दिएर लागिपरेका छन् । किनकी ओलीले ब्याक फायर गर्नसक्छन् भन्ने उनीहरुलाई राम्रारी थाहा छ । आफ्ना कुरामा कसैले प्रश्न मात्र गरे आफ्नै कुरालाई गलत सावित गराउने ओलीको बानी उनीहरुले नबुझेका होइनन् । त्यसैले बादलहरु ‘गोपी कृष्ण काउ’ भन्दैछन् ।

मान्छेका बाध्यता अनेक हुन्छन् । नदिए खोसेर लिनुपर्छ भन्दै जिहाद छेडेका बादलहरु आज एमालेमा ‘दिए खाने नदिए हेरेर थुक निल्ने’ अवस्थामा छन् । ओलीले दया गरेर महाधिवेशनमा निर्वाचित गरे नेता नत्र अरु नेता भएको हेरर चित्त बुझाउनुको उनीहरुसँग विकल्प छैन । जग नभएको घरमा बास बस्दा हुने त यस्तै हो । दृष्टीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार