श्रावण ३, २०८२ शनिबार July 19, 2025

कांग्रेस महाधिवेशन : अझै बनेनन् प्यानल, सिटौला तानातान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: महाधिवेशनको एक दिन अघिसम्म पनि कांग्रेसका दुवै पक्षले ‘प्यानल’ बनाउन सकेका छैनन्। सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाउन सकेको छैन।

संस्थापनइतर पक्षले सभापतिकै उम्मेदवार तय गर्न सकेन। दुवै पक्ष बुधबार दिनभरजसो छलफल, वार्ता र बैठकमा व्यस्त बनेका थिए। शुक्रबारबाट कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह ४ दिनदेखि निरन्तर छलफलमा छ । सो समूहबाट नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सहमति जुटे सभापतिको उम्मेदवारबाट आफूहरू लचिलो  बन्ने संकेत गरेका छन्। तर, नेता प्रकासमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुटन सकेन।

साझा उम्मेदवार तय गर्न नेताहरू सिंह निवास चाक्सीबारीमा दिनभरजसो बैठक गरे। पौडेल पक्षीय गुरु घिमिरे भन्छन्, ‘प्रकाश दाइको आफ्नै अडान छ। शेखर दाइ आफ्नै अडानमा हुनुहुन्छ।’ उनले भने, ‘अब सभापतिका आकांक्षी बाहेकका केन्द्रीय सदस्यहरू छलफलमा बस्छौं। उहाँहरूले सक्नुभएन भने हाम्रो निर्णय मान्नुपर्छ।’

सो पक्षका नेता रामशरण महतले पनि नेताहरू आ–आफ्नै अडानमा रहेकाले साझा उम्मेदवार तय हुन नसकेको बताए। ‘एक जनता  लचक हुनुपर्छ नि !,’ उनले भने, ‘सबैलाई सभापति चाहिएको छ।’ वरिष्ठ नेता पौडेलले अरू आकांक्षीबीच सहमति जुटे आफूपछि हट्ने र नजुटे आफूलाई समर्थन गर्न आग्रह गरिसकेका छन्। ‘रामचन्द्रजीले तपाईंहरू मिल्नुहोस्, मिल्न सक्नुहुन्न भने मलाई समर्थन गर्नुहोस् भनिराख्नुभएको छ। मिलेरै जाउँ भन्ने उहाँको कुरा हो,’ महतले भने।

उता संस्थापन पक्षमा भने सभापति देउवाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षीहरूलाई मिलेर आउन आग्रह गरेका छन्। सभापतिमा जसरी पनि जित्नुपर्छ भन्ने सोचमा अघि बढेका देउवाले प्रदेश गत रूपमा आकांक्षीको भावना बुझेर उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गरेका छन्।

संस्थापन पक्षको बैठकमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा आकांक्षा देखाएका छन्। महामन्त्रीमा बालकृष्ण खाँण, एनपी साउद र प्रकाशशरण महतले आकांक्षा व्यक्त गरेका थिए। महामन्त्रीमा उम्मेदवार घोषणा गरिसकेका विश्वप्रकाश शर्मालाई भने देउवाले सहमहामन्त्रीको उम्मेदवार बन्न आग्रह गरेका छन्। शर्माले भने, ‘यो टुंगिसकेको कुरा हैन। बैठकमा उम्मेदवारहरू केलाउने क्रममा प्रसंग उठेको हो। २४ गते बिहानसम्म सबै पदाधिकारी र केन्द्रीय सदस्यको विषय टुंगिन्छ।’

सिटौला तानातान

तेस्रो धारका रूपमा चिनिने कृष्णप्रसाद सिटौलालाई दुवै पक्षले आफूतिर तान्ने कोसिस गरेका छन्। १३औं महाधिवेशनदेखि कांग्रेसभित्र बलियो शक्तिका रूपमा उदाएका सिटौलाले १४औंमा आइपुग्दा फेरि उक्त झल्को दिएका छन्। भर्खरै सम्पन्न जिल्ला र प्रदेश अधिवेशनको नतिजाबाट पनि महाधिवेशनमा सिटौलाको भूमिका निर्णायक हुनसक्ने आंकलन गरिएको छ।

सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैको नजर सिटौलातिर मोडिएको छ। सिटौला जता उभिन्छन्, उतै पल्लाभारी हुने सम्भावना छ। नेता गगनकुमार थापा उक्त समूहबाट निस्के पनि सिटौला उत्तिकै शक्तिशाली देखिन्छन्।

अघिल्लो महाधिवेशनमा सिटौलाको उम्मेदवारीले देउवा र पौडेललाई पहिलो चरणमा निर्वाचित हुनबाट रोकेको थियो। दोस्रो चरणमा उनको सहयोगबाट देउवाले सभापति जितेका थिए। त्यही निर्णायक मतले पनि सिटौलालाई बलियो बनायो।अन्नपुर्ण पोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार