काठमाण्डौंः सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई निलम्बन गरेको छ । शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै उनलाई निलम्बन गरेको हो ।
पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले छानबिनका लागि बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा ३ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।
उपसमितिमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल र नवाङ शेर्पा सदस्य छन् । संयोजक रिजालले भने, “छानबिन प्रभावित नहोस् भनेर पदबाट निलम्बन गरिएको हो ।”
सीईओ रेग्मीले गत असोजमा विदेशबाट फर्किंदा तोकिएको भन्दा बढी मदिरा ल्याएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पर्यटन मन्त्रालयले छानबिन गरिरहेको छ ।
सरकारले १ बोतल मदिरा ल्याउन छुट दिएकोमा रेग्मीले विदेशबाट फर्किंदा ६ बोतल मदिरा भन्सारको नियमविपरीत भित्र्याएको आरोप छ । डा. रेग्मी तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको सिफारिसमा सरकारबाट २०७६, १४ माघमा ४ वर्षका लागि पर्यटन बोर्डको सीईओ नियुक्त भएका थिए । कारोबार दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया